कोशी ब्यारेजको इतिहास सम्झौतादेखि पूर्वी नेपालको जीवनसँग जोडिएको संरचनासम्म

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नेपाल–भारत सम्बन्ध, जलस्रोत उपयोग र पूर्वी नेपालको सामाजिक आर्थिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण संरचना हो कोशी ब्यारेज। सप्तरी र सुनसरीको सीमाक्षेत्रमा रहेको यो ब्यारेज बाढी नियन्त्रण, सिँचाइ तथा आवागमनका दृष्टिले आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।


कोशी परियोजनाको आधार नेपाल र भारतबीच भएको कोशी सम्झौतालाई मानिन्छ। वि.सं. २०११ साल वैशाख १२ गते नेपाल र भारतबीच भएको सम्झौतामा नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र भारतका सिँचाइ तथा विद्युत् मन्त्री गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए।

राणाकालमै भारतले कोशी नदीमा बाँध निर्माण तथा नदी व्यवस्थापनसम्बन्धी योजना अघि सारेको इतिहास पाइन्छ। वि.सं. २००२ सालतिर चतरामा ठूलो बाँध निर्माण गर्ने तथा कोशी क्षेत्रमा जलाशय विकास गर्ने योजनासमेत अघि सारिएको बताइन्छ। तर तत्कालीन राजनीतिक परिस्थितिका कारण ती योजना तत्काल कार्यान्वयनमा आउन सकेनन्।

कोशी सम्झौता भएपछि करिब पाँच वर्षसम्म विभिन्न अध्ययन तथा सर्वेक्षणका काम भए। त्यसपछि वि.सं. २०१६ साल वैशाख १६ गते तत्कालीन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले संयुक्त रूपमा कोशी परियोजनाको शिलान्यास गरेका थिए।

निर्माण सम्पन्न भएपछि वि.सं. २०२२ साल वैशाख १२ गते कोशी ब्यारेजको उद्घाटन गरिएको थियो। त्यसपछि यो संरचना पूर्वी नेपालको यातायात, सिँचाइ, व्यापार तथा बाढी व्यवस्थापनसँग जोडिएको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गयो।

सम्झौतामा संशोधन

कोशी सम्झौतामा रहेका कतिपय प्रावधानलाई लिएर नेपालमा विरोध तथा असन्तुष्टि बढेपछि त्यसलाई परिमार्जन गर्ने उद्देश्यले वि.सं. २०२३ साल पुस ४ गते अर्को सम्झौता गरिएको थियो। उक्त सम्झौतामा भारतका तर्फबाट भारतीय राजदूत श्रीमन नारायण र नेपालका तर्फबाट अर्थ सचिव यादवप्रसाद पन्तले हस्ताक्षर गरेका थिए।

धार परिवर्तन गर्दै आएको कोशी

कोशी नदीको इतिहास आफैंमा निकै परिवर्तनशील छ। विभिन्न कालखण्डमा कोशीले आफ्नो धार परिवर्तन गर्दै आएको पाइन्छ। सन् १७३० देखि १९५० को अवधिमा कोशी नदी पश्चिमतर्फ करिब ११५ किलोमिटरसम्म सरेको उल्लेख पाइन्छ।

नदीको धार परिवर्तन र बाढीका कारण भारतको बिहार क्षेत्रमा ठूलो जनधनको क्षति हुने भएकाले कोशीलाई लामो समयसम्म बिहारको दुःख’ का रूपमा समेत चिनिन्थ्यो।


तर कोशी ब्यारेज निर्माणपछि नेपालतर्फ पनि यसको प्रभाव र जोखिमबारे प्रश्न उठ्दै आएका छन्। विशेषगरी वर्षायाममा नदीको बहाव बढ्दा ब्यारेजका ढोका सञ्चालन, नदीको धार परिवर्तन, तटीय कटान तथा डुबानका विषयमा नेपाली पक्षले समय–समयमा चिन्ता व्यक्त गर्दै आएको छ।

यातायातको महत्वपूर्ण आधार

करिब १ हजार १४९ मिटर लामो कोशी ब्यारेजमा ५६ वटा ढोका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यो ब्यारेज पूर्वी नेपालको यातायात तथा आवागमनका लागि महत्वपूर्ण संरचना हो।

ब्यारेजबाट दैनिक ठूलो संख्यामा सवारीसाधन तथा यात्रु आवतजावत गर्छन्। यसले पूर्वी नेपाललाई देशका अन्य भूभागसँग जोड्नुका साथै सीमावर्ती व्यापारमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

चर्चामा कोशी उच्च बाँध

नेपाल र भारतबीच प्रस्तावित कोशी उच्च बाँधको विषय पनि लामो समयदेखि चर्चामा छ। प्रस्तावित आयोजनाबाट नेपालमा ठूलो क्षेत्रफलमा सिँचाइ सुविधा तथा विद्युत् उत्पादन गर्न सकिने दाबी गरिँदै आएको छ।


तर उच्च बाँध निर्माण अघि बढाउँदा सम्भावित डुबान, विस्थापन, वातावरणीय प्रभाव तथा स्थानीय जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने आवाज पनि उठ्दै आएको छ।

सुरक्षा र मर्मतमा जोड आवश्यक कोशी ब्यारेज निर्माणको मुख्य उद्देश्य बाढी नियन्त्रण र सिँचाइ भए पनि यससँग जोडिएका जोखिम तथा दीर्घकालीन प्रभावलाई बेवास्ता गर्न नसकिने स्थानीय सरोकारवालाहरू बताउँछन्।

विशेषगरी ब्यारेजको नियमित मर्मत, संरचनाको सुरक्षा, ढोका सञ्चालन प्रणाली तथा सीमावर्ती क्षेत्रमा बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण आज पनि महत्वपूर्ण विषय बनेका छन्।

करिब छ दशकभन्दा लामो इतिहास बोकेको कोशी ब्यारेज अहिले केवल एउटा जल संरचना मात्र नभई नेपाल–भारत सम्बन्ध, जलस्रोत उपयोग, बाढी व्यवस्थापन र पूर्वी नेपालको सामाजिक–आर्थिक जीवनसँग जोडिएको संवेदनशील संरचना बनेको छ।

त्यसैले यसको संरक्षण, नियमित मर्मत तथा सञ्चालनमा नेपाली नागरिकको सुरक्षा र राष्ट्रिय हितलाई समेत केन्द्रमा राख्नुपर्ने आवश्यकता देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *