दुर्गम बेतहामा विकासको ऐतिहासिक फड्को सडक र कल्भर्ट निर्माणले सहज बन्दै आवतजावत

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

विकासको पहुँचबाट लामो समयदेखि टाढा रहँदै आएको सिराहा जिल्लाको लहान नगरपालिका–१५ स्थित दुर्गम बेतहा बस्तीमा सडक पूर्वाधार निर्माणले तीव्रता पाएको छ।

नगर प्रमुख महेश प्रसाद चौधरीको पहलमा बेतहाको प्रवेशद्वार मेनहर्वादेखि बेतहासम्मको सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको हो। सडक निर्माणसँगै विभिन्न स्थानमा आवश्यक कल्भर्ट निर्माणसमेत गरिएको छ।

यसअघि सहज सडक पहुँच नहुँदा स्थानीयवासीले पत्रकार विनोद अविरलसहितको सहभागितामा करिब १५ किलोमिटर सडक निर्माणका लागि श्रमदानमार्फत ‘कोदालो अभियान’ सञ्चालन गरेका थिए। उक्त अभियानका दृश्यहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख चौधरीले तत्काल जेसिबी परिचालन गरी सडक निर्माणलाई तीव्रता दिएको बताइएको छ।

हाल करिब १५ किलोमिटर सडकलाई सहज आवागमनयोग्य बनाउने काम उल्लेखनीय रूपमा सम्पन्न भएको छ। सडकका मुख्य स्थानमा आवश्यक कल्भर्ट निर्माणसमेत सम्पन्न भइसकेको छ। यसले विशेषगरी वर्षायाममा हुने आवतजावतको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार अब एउटा स्थानमा मात्रै सानो कल्भर्ट निर्माण गर्न बाँकी रहेको छ। उक्त कल्भर्टसमेत छिट्टै निर्माण सम्पन्न गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

वर्षौंदेखि सडकको अभाव झेल्दै आएका स्थानीयवासीले सडक निर्माणले गाउँको विकासमा नयाँ आशा जगाएको बताएका छन्। सडक र कल्भर्ट निर्माणपछि बेतहा बस्तीका नागरिकलाई शिक्षा, स्वास्थ्य, कृषि उपजको ढुवानी तथा दैनिक आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीका अनुसार सडक पहुँच विस्तार भएपछि दुर्गम बस्तीको आर्थिक तथा सामाजिक गतिविधिसमेत बढ्नेछ। कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन तथा आवश्यक सेवा–सुविधामा पहुँच बढाउन सडक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको विश्वास छ।

लामो समयदेखि उपेक्षामा परेको बेतहामा सडक निर्माणले गति लिएसँगै स्थानीयवासीले विकासको अनुभूति गर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *