मलेसियामा ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव २०२६ भव्य रूपमा मनाइँदै, सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आग्रह

0Shares

मलेसियामा ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाइँदै, सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आग्रह

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) को आयोजनामा आगामी ९ अगस्ट २०२६ (आइतबार) क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा आयोजना हुने भएको छ।

आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली श्रमिक, बुद्धिजीवी, पत्रकार, व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई ऐतिहासिक अवसरलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

यस वर्षको विश्व आदिवासी दिवस “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, भविष्यको निर्माण” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मनाइँदै छ। कार्यक्रममार्फत मूलवासी भूमिपुत्र आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सभ्यता, परम्परा, पहिचान तथा अधिकार संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आरएम २० को भाग्यशाली चिट्ठा (Lucky Draw) राखिएको छ। जसअन्तर्गत प्रथम पुरस्कार iPhone 17 Pro Max, द्वितीय पुरस्कार ३२ इन्च LED टेलिभिजन, तृतीय पुरस्कार Android स्मार्टफोन तथा तीन जना भाग्यशाली विजेतालाई Smart Watch सान्त्वना पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी, कार्यक्रममा नेपालका विभिन्न मूलवासी भूमिपुत्र आदिवासी जनजाति समुदायका मौलिक तथा परम्परागत परिकारहरूको स्वाद लिन सकिनेछ। थाङ्मी (थामी), तामाङ, शेर्पा, मगर, राई, लिम्बु, थारु तथा गुरुङ समुदायका परम्परागत परिकारहरू सहभागीहरूका लागि विशेष आकर्षण रहनेछन्।

साथै, विभिन्न समुदायका मौलिक सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा सांगीतिक प्रस्तुति पनि कार्यक्रमको अर्को प्रमुख आकर्षण रहनेछ। डम्फु, मादल, सेलो, मारुनीलगायतका मौलिक सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप जीवन्त र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले विगत १३ वर्षदेखि मलेसियामा रहेका नेपाली आदिवासी जनजातिहरूको हक, अधिकार, भाषा, संस्कृति तथा पहिचान संरक्षणका लागि निरन्तर सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

आयोजकका अनुसार यो कार्यक्रम केवल उत्सव मात्र नभई नेपालका मूलवासी भूमिपुत्र आदिवासी जनजातिहरूको साझा पहिचान, एकता, संस्कृति र गौरवलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएकाले सबै नेपाली समुदायलाई परिवार तथा आफन्तसहित उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *