मलेसियामा विश्व आदिवासी दिवस र वार्षिक उत्सवको तयारी, अनिता थापालाई सम्मानसहित बिदाइ
2026-06-29थामी सभ्यता, संस्कृति र मुन्धुम संरक्षणको ऐतिहासिक उपलब्धि : ‘सिलोके पालाखे’ विमोचन
2026-06-23
मलेसियामा विश्व आदिवासी दिवस र वार्षिक उत्सवको तयारी, अनिता थापालाई सम्मानसहित बिदाइ
मलेसियामा विश्व आदिवासी दिवस र वार्षिक उत्सवको तयारी, अनिता थापालाई सम्मानसहित बिदाइ
क्वालालम्पुर (मलेसिया), असार १५ । नेपाल आदिवासी जनजाति महासंघ, प्रवास शाखा मलेसियाले आगामी ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सव भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ तयारी बैठक सम्पन्न गरेको छ।
आइतबार क्वालालम्पुरस्थित कोतारायामा आयोजित बैठकमा कार्यक्रमको समग्र तयारी, व्यवस्थापन, जिम्मेवारी बाँडफाँट तथा सफल आयोजनाका लागि आवश्यक विविध विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको महासंघले जनाएको छ।
बैठकमा महासंघका पदाधिकारी, सदस्य तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विश्व आदिवासी दिवसलाई प्रवासी नेपाली आदिवासी जनजातिहरूबीच एकता, पहिचान, भाषा, संस्कृति, परम्परा र मौलिक सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा पर्वका रूपमा मनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन सबै पक्षबीच आपसी सहकार्य, समन्वय र सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिँदै आगामी विश्व आदिवासी दिवसलाई प्रवासी नेपाली समुदायका लागि स्मरणीय, अनुकरणीय र ऐतिहासिक कार्यक्रमका रूपमा सम्पन्न गर्ने साझा प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसै अवसरमा महासंघ मलेसियाकी कोषाध्यक्ष अनिता थापाको सम्मानसहित बिदाइ कार्यक्रमसमेत सम्पन्न गरिएको छ। उहाँको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै संस्था तथा आदिवासी जनजाति समुदायप्रति पुर्याउनुभएको समर्पित योगदानको उच्च मूल्याङ्कनसहित हार्दिक बिदाइ गरिएको महासंघले जनाएको छ।
थाङ्मीचागु डटकम परिवारले पनि आगामी ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सवको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण आयोजक, स्वयंसेवक, सहयोगी संस्था तथा प्रवासी नेपाली समुदायप्रति अग्रिम धन्यवाद ज्ञापन गर्दछ।




