प्र.अ. घनश्याम झाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
2026-07-28इराकबाट फर्किएका २०३ नेपालीले पाए श्रम स्वीकृति, लाखौं रुपैयाँ बचत
2026-07-22
विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।

दोलखा विगु गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत आधारभूत तह (कक्षा १–८) का लागि थामी मातृभाषाको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक निर्माण कार्य सम्पन्न गरेको छ।

हाल पाठ्यक्रम तथा पाठ्यपुस्तक छपाइको प्रक्रियामा रहेका छन् भने आगामी शैक्षिक सत्रदेखि कक्षा १ बाट मातृभाषामा पठनपाठन सुरु गर्ने गाउँपालिकाको योजना रहेको छ।

मातृभाषा शिक्षाको प्रवर्द्धन तथा स्थानीय भाषा संरक्षण गर्ने उद्देश्यका साथ तयार गरिएको उक्त पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्य बहुभाषिक शिक्षा तथा सञ्चार प्रालिको संयोजनमा सम्पन्न भएको हो। यस अन्तर्गत पाठ्यक्रम लेखनका लागि डम्बरबहादुर थामी र कक्षा १ को पाठ्यपुस्तक लेखनका लागि रमेश थामी (छड्केसलाम) सँग सम्झौता गरी लेखन प्रक्रिया पूरा गरिएको थियो।

बहुभाषिक शिक्षा तथा सञ्चार प्रालिकी संयोजक सङ्गीता तामाङ रहनुभएको छ। पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण प्रक्रियामा प्राज्ञिक सहजीकरण एवं परामर्श भाषा आयोगका कायममुकायम सचिव डा. लोकबहादुर लोप्चनले प्रदान गर्नुभएको थियो।

नेपालको संविधानले सुनिश्चित गरेको मातृभाषामा शिक्षा प्राप्त गर्ने नैसर्गिक तथा संवैधानिक अधिकारको कार्यान्वयन गर्दै विगु गाउँपालिकाले स्थानीय पाठ्यक्रमका रूपमा मातृभाषा पाठ्यक्रम विकास गरेको जनाएको छ। मातृभाषामार्फत शिक्षण गर्दा भाषा, संस्कार, संस्कृति, भेषभूषा, धर्म तथा परम्पराको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

थामी भाषासँगै विगु गाउँपालिकाको अर्को रैथाने भाषा तामाङ भाषाको आधारभूत तहको पाठ्यक्रम तथा कक्षा १ को पाठ्यपुस्तक पनि तयार भई प्रकाशनको चरणमा रहेको छ। गाउँपालिकाले दुवै भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तक आगामी शैक्षिक सत्रदेखि विद्यालयमा लागू गर्ने तयारी गरेको जनाएको छ।




