पूर्वी एसियाबाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन, मलेसियास्थित सबै पथाधिकारी तथा पदाधिकारीद्वारा हार्दिक बधाइ

0Shares

पूर्वी एसियाबाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन, मलेसियास्थित सबै पथाधिकारी तथा पदाधिकारीद्वारा हार्दिक बधाइ

कुआलालम्पुर, २०२५ नोभेम्बर २९। नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै विश्वभरका प्रवासी संगठनहरूमा प्रतिनिधि छनौट प्रक्रिया तीव्र भइरहेका बेला प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष कमरेड दया राम कुमाल पूर्वी एसिया महादेशबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधिका रूपमा औपचारिक रूपमा चयन भएका छन्।

संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका अध्यक्ष कुमालको योगदान, नेतृत्व क्षमता, कार्यक्षमता र प्रवासमा बसेका नेपालीहरूबीच एकता, सहकार्य र राजनीतिक जागरण फैलाउन खेलेको भूमिकालाई आधार मानेर पूर्वी एसिया क्षेत्रीय संरचनाले उनीप्रति पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ।

प्रतिनिधि छनौटका क्रममा कुमालले प्रवासी मञ्चलाई संस्थागत विकास, नियम–पद्धति पालन, शाखा विस्तार, सदस्यता अभिवृद्धि र प्रवासी वर्गको अधिकार पहिचानमा गरेका प्रयासलाई विशेष महत्व दिइएको मञ्चका पदाधिकारीहरूले उल्लेख गरेका छन्। कुमालको नेतृत्वमा मलेसियामा संगठन झनै सबल हुनुका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका समस्यामा आवाज बुलन्द गरिएको विभिन्न पथाधिकारीहरूको मूल्यांकन छ।

महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयनको खबर सार्वजनिक भएपछि मलेसियामा रहेका सबै पथाधिकारी, पदाधिकारी, शाखा अध्यक्षहरू, स्थानीय संयोजक, सल्लाहकारहरू तथा सक्रिय सदस्यहरूले कुमाललाई एकपछि अर्को गर्दै बधाई व्यक्त गरेका छन्। उनीहरूले कुमालले महाधिवेशनमा प्रवास क्षेत्रका मुद्दा—वैदेशिक रोजगार, कानुनी संरक्षण, श्रम अधिकार, सदस्य परिचालन र पार्टी संगठन विस्तार—प्रभावकारी ढङ्गले उठाउने विश्वास व्यक्त गरेका छन्।

यसै अवसरमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका उपसचिव राम चन्द्र लोप्चनले अध्यक्ष कुमालको चयनलाई सुखद र गौरवपूर्ण उपलब्धि भन्दै, “यो केवल एक व्यक्ति होइन, सम्पूर्ण मलेसियास्थित प्रवासी नेपालीहरूको सामूहिक गर्व हो,” भनेर शुभकामना व्यक्त गरेका छन्। उनले महाधिवेशनमा प्रवासी जनताको आवाज सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा समेत जनाए।

महाधिवेशन नजिकिँदै जाँदा प्रवासी नेपाली मञ्च मलेसियाले आफ्नो संगठनात्मक तयारीलाई थप सुदृढ बनाइरहेको जनाएको छ। अध्यक्ष कुमालको नेतृत्वमा प्रवासी नेपालीको हित र राष्ट्रिय राजनीति दुवैमा प्रवास क्षेत्रको प्रभावकारी उपस्थिति अझै मजबुत भएर जाने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *