राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको नयाँ कार्यसमिति दूतावासमा दर्ता
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको नयाँ कार्यसमिति दूतावासमा दर्ता

२०८२ भदौ ६, शुक्रबार, क्वालालम्पुर। नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको छैटौं अधिवेशन सम्पन्न भएसँगै गठन भएको नयाँ कार्यसमितिको नामावली आज मलेसियास्थित नेपाल दूतावासमा औपचारिक रूपमा बुझाइएको छ।

नेपालका महामहिम राजदूत डा. नेत्र प्रसाद तिमल्सिनालाई महासंघको संरक्षक सुन्दर आले, सल्लाहकार दिल केरुङ लिम्बू र पुर्णबहादुर लिम्बू, अध्यक्ष पदम राज लिम्बू, महासचिव सन्जिव श्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, महिला सचिव तिल रानी लिम्बू लगायत पदाधिकारीहरूको उपस्थितिमा उक्त नामावली हस्तान्तरण गरिएको हो।

यस अवसरमा महामहिम राजदूतले प्रवासमा बसेर पनि आदिवासी जनजातिहरूले आफ्नो हकहित र पहिचान संरक्षणका लागि देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्नुभएको थियो। उहाँले दूतावास सधैं नेपाली समुदायको हित र सहयोगमा तयार रहने उल्लेख गर्दै मलेसियामा रहेका आदिवासी समुदायबीच एकता, सहकार्य र साझा लक्ष्यमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

नवगठित कार्यसमितिका अध्यक्ष पदम राज लिम्बूले महासंघको अधिवेशनमार्फत प्राप्त जनमत र भरोसालाई सार्थक बनाउन महासंघले अझ योजनाबद्ध तरिकाले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “मलेसियामा रहेका आदिवासी जनजातिहरूको साझा आवाजलाई मजबुत बनाउन, नेपालसँगको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन र हकहितका सवालमा ऐक्यबद्ध भएर अघि बढ्न हाम्रो कार्यसमिति समर्पित रहनेछ।”

त्यसैगरी महासचिव सन्जिव श्याङ्बो तामाङले महासंघले निकट भविष्यमा विभिन्न सांस्कृतिक, सामाजिक र शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजनाबारे जानकारी दिनुभयो। उहाँका अनुसार विशेष गरी नयाँ पुस्तालाई मातृभाषा, संस्कृति र परम्परासँग जोड्न र मलेसियामा रहेका आदिवासी समुदायबीच आपसी सहयोग र सहअस्तित्वलाई बलियो बनाउन प्राथमिकता दिइनेछ।

महिला सचिव तिल रानी लिम्बूले महिलाको सशक्तीकरण र सहभागितालाई महासंघको आगामी गतिविधिहरूमा विशेष प्राथमिकता दिने बताउँदै, महिला तथा युवतीहरूलाई नेतृत्व भूमिकामा सक्रिय बनाउन विशेष योजना अघि सारिने उल्लेख गर्नुभयो।

कार्यक्रमका सहभागी संरक्षक, सल्लाहकार र पदाधिकारीहरूले समेत नवगठित समितिले प्रवासमा आदिवासी जनजातिहरूलाई संगठित गर्ने, एक अर्का बीच आत्मीय सम्बन्ध विस्तार गर्ने र नेपाल–मलेसिया बीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने आशा व्यक्त गरे।

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले आफ्नो स्थापना कालदेखि नै प्रवासी नेपाली आदिवासी जनजातिहरूको हकहितका सवालमा आवाज उठाउँदै आएको छ। यसपटक गठन भएको छैटौं कार्यसमितिले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास गरिएको छ ।





