कोशी प्रदेशको राजधानी विराटनगरमा १६० औँ मोती जयन्ती मनाइयो

0Shares

कोशी प्रदेशको राजधानी विराटनगरमा १६० औँ मोती जयन्ती मनाइयो

थाङमिचागु डटकम संवाददाता

मोरङ – हिमांशु राय ।
कोशी प्रदेशको राजधानी विराटनगरमा कवि मोतीराम भट्टको १६० औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ।

छन्दवाटिका नेपाल, विराटनगरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मोतीरामको जीवनी, व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरिनुका साथै रचनावाचन पनि गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने रहेका थिए। कार्यक्रममा प्राज्ञ खेम नेपाली, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी, प्रज्ञा–परिषद् सदस्य शुभलक्ष्मी लम्साल, मुक्तक प्रतिष्ठान नेपाल कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, सङ्गम अभियान पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहाललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता केशु विरहीले मोतीरामलाई अन्वेषक, कवि, गजलकार, पत्रकार, जीवनीकार, समालोचक, नाटककार, पुस्तकालयका संस्थापक, मुद्रण आरम्भकर्ता तथा प्रेरणाका स्रोतका रूपमा प्रस्तुत गर्दै ३० वर्षको छोटो जीवनमै उनले नेपाली साहित्यमा पुर्‍याएको योगदान अद्वितीय रहेको उल्लेख गरे।

सो अवसरमा बाबुराम पोखरेल, जीवन काश्यप, गोपाल निर्भीक, जीवन ढुङ्गाना, प्रमोदकुमार ढकाल, चूडामणि नेपाल, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, सिजन श्रेष्ठ, राधा भट्टराई, उमानाथ घिमिरे सगर, शुभलक्ष्मी लम्साल, डोमी कामत, कृष्ण अञ्जान, मञ्जु घिमिरे दाहाल, पुण्य चौलागाईंलगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए।

कार्यक्रममा मोतीराम विशेष रचनासँगै स्वतन्त्र रचनाहरू पनि वाचन गरिएका थिए। संस्थाका तर्फबाट शारदा भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् भने अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। कार्यक्रममा सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गरेका थिए।

२०७० सालमा स्थापना भएको छन्दवाटिका नेपालले नेपाली साहित्यमा छन्दलेखनलाई विशेष प्राथमिकतामा राखी गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *