मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
वीरगञ्जमा सुरक्षित गर्भपतनबारे युवा पहुँच परियोजना सञ्चालनमा
वीरगञ्जमा सुरक्षित गर्भपतनबारे युवा पहुँच परियोजना सञ्चालनमा
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ, ११ असार
वीरगञ्जका किशोर-किशोरी र युवामाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा तथा जानकारीको पहुँच विस्तार गर्न ‘युवा पहुँच परियोजना’ सक्रिय रूपमा सञ्चालनमा आएको छ।
परियोजनाले १५ देखि २४ वर्ष उमेर समूहका किशोर तथा युवाहरूलाई लक्षित गर्दै, विद्यालय, कलेज र समुदायसम्म पुगेर सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम, तथा उपलब्ध निःशुल्क सेवाबारे सचेतना फैलाउने काम गरिरहेको छ।
युवा संस्थाको अगुवाइमा सञ्चालित परियोजनाले सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवालाई सहज बनाउन परामर्श सेवा, निःशुल्क गर्भनिरोधक सामग्री वितरण र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवासमेत प्रदान गरिरहेको छ।
परियोजनाका वीरगञ्ज संयोजक आसु सर्राफका अनुसार, “हामीले समुदायमा रहेको भ्रम, लाज र सामाजिक कलंकको वातावरण तोड्दै युवाहरूलाई सशक्त बनाउने लक्ष्य लिएका छौं।“
वीरगञ्जको नारायणी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. मञ्जु रायले पनि सुरक्षित गर्भपतनसम्बन्धी सचेतनाका कार्यक्रमपछि किशोरीहरू खुला रूपमा जानकारी लिन थालेका छन् र सुरक्षित सेवाका लागि अस्पताल आउन थालेका छन् भन्ने सकारात्मक परिवर्तन देखिएको बताउनुभयो।
परियोजनाअन्तर्गत आगामी महिनाहरूमा विभिन्न वडामा मोबाइल हेल्थ क्याम्प सञ्चालन गर्दै निःशुल्क सेवा र परामर्श प्रदान गरिने जनाइएको छ।
नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइए पनि जानकारीको अभाव, सेवा पहुँचमा कठिनाइ र सामाजिक दबाबका कारण आज पनि धेरै महिलाहरू असुरक्षित गर्भपतन गर्न बाध्य छन्। यसै समस्यालाई मध्यनजर गर्दै युवाहरूको नेतृत्वमा यो परियोजना सन् २०२१ देखि सञ्चालनमा आएको हो।
युवा संस्थाले ४० जना युवालाई “युवा च्याम्पियन” को रूपमा छनोट गरी व्यवहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरेको छ। ती च्याम्पियनमार्फत अहिलेसम्म १५०० भन्दा बढी युवा प्रत्यक्ष लाभान्वित भएका छन्।
त्यस्तै, ६ जना अनमी (सहायक नर्स मिडवाइफ) हरूलाई मेडिकल गर्भपतनसम्बन्धी तालिम दिइएको छ भने, ५० जना स्वास्थ्यकर्मीलाई भ्याक्ट मूल्य स्पष्टिकरण र मनोवृत्ति रूपान्तरण तालिम प्रदान गरिएको छ।
परियोजनाकी कार्यकारी सदस्य खुश्बु राईले भन्नुभयो, “सुरक्षित गर्भपतनसम्बन्धी सेवा पहुँचको कमी, सामाजिक कलंक र स्वास्थ्य जोखिमको सामना गरिरहेका युवतीहरूसँग यो परियोजना नजिक पुगेको छ।“
परियोजनाले वीरगञ्ज महानगरपालिकासँग नीतिगत संवाद र सहकार्य पनि गर्दै आएको छ।
कार्यक्रम संयोजक विपना श्रेष्ठका अनुसार, “यस संस्थाको स्थापना सन् २००९ मा भए पनि, संस्थापकहरू सन् २००५ देखि नै युवासम्बन्धी क्षेत्रमा सक्रिय थिए।“
संस्थाले युवाको सशक्तिकरण, वकालत र सहभागितालाई प्रवर्द्धन गर्दै, यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे उनीहरूलाई सचेत र सक्षम बनाउने लक्ष्य राखेको जनाएको छ।





