द्वापर युगका थम्बु नै अहिलेका थामी! — दोलखाको इतिहासमा किरात राजवंशको प्रमाण

0Shares

द्वापर युगका थम्बु नै अहिलेका थामी! — दोलखाको इतिहासमा किरात राजवंशको प्रमाण

थाङमिचागु डटकम संवाददाता

दोलखा, असार ११
दोलखा जिल्लाको प्राचीन इतिहासमा थामी समुदायको मूल पहिचान र उत्पत्तिसम्बन्धी नयाँ बहस पुनः चुलिएको छ। इतिहासकार यज्ञ कुमार प्रधानले आफ्नो पुस्तक ‘दोलखाको साँस्कृतिक सम्पदा’ मा उल्लेख गरेअनुसार, वर्तमान थामी वा थाङमी समुदायको उद्गम द्वापर युगका थम्बु राजवंशबाट भएको पुष्टि हुन थालेको छ।

पुस्तकको पृष्ठ ७ को खण्ड १ अनुसार, द्वापर युगको प्रारम्भिक १५,००० वर्षपछि गुप्त वंशका राजा भुवन सिंहको पालामा नेपाल क्षेत्रमा किरात वंश शासनमा थिए। पाँच पाण्डव वनवासको समयमा किरात राजा हुमती थम्बु नेपालका राजा थिए भन्ने उल्लेख छ। गौरीशंकरको दर्शन गर्न पाण्डवहरू दोलखा आएको उल्लेखले दोलखा क्षेत्रमा किरात शासन र सांस्कृतिक गहिरो जरा रहेको पुष्टि गर्छ।

थम्बुदेखि थामीसम्मको सांस्कृतिक यात्रा

प्रसिद्ध पर्यटकीय स्थल शैलुङ्ग डाँडा, जुन दोलखा र रामेछापको सिमानामा छ, ऐतिहासिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। इतिहास अनुसार, किरात राजा यलम्बरको जन्म त्यही शैलुङ्ग क्षेत्रमै भएको थियो। उनको नव नाम ‘यलुङ थम्बु’ थियो, जुन कालान्तरमा ‘शैलुङ’ नाममा रुपान्तरण भएको हो।

इतिहासविद्का अनुसार, काठमाडौंको कैयौं नामहरू थाङमी (थम्बु) भाषामा रहेका छन्, जसले राजधानीमा थम्बु जातिको प्रभाव पुष्टि गर्दछ। काठमाडौंको भैरव जात्रामा यलम्बरको स्मरण गरिनु र दोलखामा मछिन्द्रनाथको पूजा थामी समुदायबाट शुरू हुनु गहिरो सांस्कृतिक सम्बन्ध देखाउँछ।

भाषा, लिपि र संस्कारमा जीवित इतिहास

थम्बु समुदायसँग यलुङ लिपि, थाङमी खाम भाषा, परम्परागत पोशाक फेङ्गा र डाम्ठी, र विशेष सांस्कृतिक परम्परा रहेका छन्।
दोलखाको चरिकोट दक्षिण–पूर्वमा रहेको ‘किराँती छाप’ स्थानलाई तत्कालीन थम्बु किरात राजा ‘हाई हाई’को राजधानी मानिन्छ।

बडादशैंमा दोलखाको राजकुलेश्वर मन्दिरमा किरात राजाहरूको नाम लिएर संकल्प गरिन्छ।
विशेषगरी त्रिपुरासुन्दरी मन्दिरको भैरव मूर्तिमा बलिदान गर्दा ३ जना मुण्डन गरिएका नाङ्गा थामी (हिप्पा थामी) लाई बलि रगत खुवाउने अनुष्ठान हुँदै आएको छ। यो परम्परा थामी समुदायको राज्यकालीन भूमिकाको सांस्कृतिक प्रमाण हो।

दोलखामा चाँदीको मोहर: आर्थिक इतिहासको झल्को

वि.सं. १६०३ तिर दोलखामा चाँदीको मोहर प्रचलनमा ल्याइएको थियो।
नेवार मूलका राजा इन्द्रसिंह देवले वि.सं. १५९१ मा पहिलोपटक शासन थालेको उल्लेख छ। त्यसबेला उकेछुकु, बेतिआजी, यापतिछुकु, सोनारी आजी, सुस्पा आदिमा थामीहरूको सशक्त उपस्थिति देखिन्छ।

यो पनि पढनुहोस

थामी वा थाङमी समुदायको इतिहास कुनै एक जनजातिको मात्र नभई नेपालकै प्राचीनता, विविधता र सांस्कृतिक मूलको पहिचान हो। थम्बुदेखि यलम्बर हुँदै थामीसम्मको यो ऐतिहासिक यात्रा अझै गहिरो अनुसन्धानको खाँचोमा छ। तर थामी समुदायको भाषा, लिपि, परम्परा र पूजा–संस्कारहरू आफैंमा जीवित प्रमाण हुन् — नेपालका पुरातन किरात वंश र इतिहासको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *