सिरहाको जल स्रोत तथा सिचाइ डिभिजनद्वारा लहान–१५ स्थित भलुवाही तथा गोसाइँकुण्ड जल संरचनाको सघन अनुगमन ।।।

0Shares

सिरहाको जल स्रोत तथा सिचाइ डिभिजनद्वारा लहान–१५ स्थित भलुवाही तथा गोसाइँकुण्ड जल संरचनाको सघन अनुगमन ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद अविरल लहान, असार ११ ।
जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय सिरहाको आयोजनामा लहान नगरपालिका–१५ स्थित सिमलटोकिको भलुवाही जल संरचना र ढोढनास्थित गोसाइँकुण्ड जल संरचनाको सघन अनुगमन गरिएको छ ।

उक्त अनुगमन टोलीको नेतृत्व डिभिजन प्रमुख डि.मो. हसमत अन्सारीले गर्नुभएको थियो । उहाँसँगै इन्जिनियर, सब–इन्जिनियर (ओभरसियर) तथा प्राविधिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

भलुवाही जल उपभोक्ता संस्था सिमलटोकिको आयोजना अन्तर्गत बनाइएका सिचाइ कुलो, पक्की संरचना, पानी प्रवाहको अवस्था, किसानको पहुँच र सिंचाइको प्रभावकारिता लगायतका पक्षहरूको सूक्ष्म अवलोकन गरिएको थियो ।

त्यस्तै, गोसाइँकुण्ड जल उपभोक्ता संस्था ढोढनामा निर्माणाधीन तथा पूर्ण संरचनाहरूको भौतिक प्रगति, कार्यान्वयनको पारदर्शिता, स्थानीय उपभोक्ताको सहभागिता तथा आयोजना व्यवस्थापनबारे पनि विस्तृत छलफल गरिएको थियो ।

डिभिजन प्रमुख अन्सारीले आयोजना गुणस्तरीय, परिणाममुखी र दिगो हुनुपर्नेमा जोड दिँदै भने, “स्थानीय उपभोक्ताको सहभागिता र स्वामित्वबिना कुनै पनि जल व्यवस्थापन आयोजना दीगो हुन सक्दैन। त्यसैले हामी अनुगमनमार्फत सुधार आवश्यक पक्षमा ध्यानाकर्षण गराउँदै छौं ।”

अनुगमन टोलीले आयोजनाको आर्थिक पक्ष, प्रवाह क्षमता, पानीको उपयोगिता र कृषकलाई परेको वास्तविक प्रभावबारे जानकारी लिई आवश्यक सुधारका लागि सुझाव समेत दिएको छ ।

स्थानीय जल उपभोक्ताहरूले सिचाइ सुविधाले आफूहरूको खेती प्रणालीमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै अझ प्रभावकारी व्यवस्थापन र समयमै मर्मतसम्भारको माग गरेका छन् ।

यस अनुगमनले आयोजना कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र नतिजामुखीता कायम गर्ने अपेक्षा गरिएको छ । जल स्रोत तथा सिचाइ विकास डिभिजन, सिरहाले जिल्लाका अन्य सिचाइ आयोजनाहरूको समेत यस्तै नियमित अनुगमन र मूल्याङ्कन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *