प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित, भिजिट भिसा प्रकरणमा दलहरूबीच सहमति जुट्न सकेन

0Shares

प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित, भिजिट भिसा प्रकरणमा दलहरूबीच सहमति जुट्न सकेन

थङमिचागु डटकम संवाददाता

काठमाडौं — भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

रास्वपा र राप्रपाले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा दलहरूबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि बैठक स्थगित गरिएको हो। सभामुख देवराज घिमिरेले सहमतिका लागि बुधबार गृहकार्य गरेर बिहीबार बैठक अघि सहमति गर्न दलहरूलाई आग्रह गरेका छन्।

यसबीच नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरूले निलो स्काफ (रिबन) लगाएर अभद्र शैलीमा संसद अवरोध गरेको आरोप लगाएका छन्। उनले रास्वपाका विरोधका कारण सांसदको लोगो लगाएर हिंड्दा अपमानित महसुस हुने अवस्था सिर्जना भएको टिप्पणी गरे।

रास्वपाका सांसद तोसिमा कार्कीले भने निलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको प्रतीक भएको बताउँदै भिजिट भिसा प्रकरणमा पीडितहरूको न्यायका लागि एक्यबद्धता जनाउनका लागि उक्त रिबन लगाएको स्पष्ट पारिन्।

यता, संघीय निजामती सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको बर्तौलाले खण्डन गर्दै विधेयकमाथि छलफल, संशोधन वा परिमार्जन संसदको अधिकार भएको र सरकारले विधेयक छिटो पास गर्न चाहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *