मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
दोलखाको सिंगटी बजार : ४० वर्षे इतिहास बोकेको व्यापारिक थलो उपेक्षाको चपेटामा
सिंगटी बजार : सम्भावना र चुनौतीको संगम
थाङमिचागु डटकम संवाददाता

दोलखाको उत्तरी भेगमा अवस्थित सिंगटी बजार जिल्लाकै दोस्रो सदरमुकामसरहको हैसियत राख्ने पुरानो र प्रतिष्ठित व्यवसायिक केन्द्र हो। करिब २०३४ सालदेखि व्यवस्थित रूपमा बजारको रूपमा विकास भएको सिंगटी, साबिकका करिब १९ वटा गाविसहरूको आर्थिक र व्यापारिक थलो बनेको छ। तर, स्थानीय तहको पुनर्संरचनामा सिंगटी बजार कुनै गाउँपालिका वा नगरपालिका केन्द्र बन्न नसक्नु दु:खद र चिन्ताजनक विषय बनेको छ।
महाभूकम्पको विनाशकारी प्रभाव सर्वाधिक भोगेको यो बजार पुनर्निर्माणपछि पनि भविष्यप्रति अन्योलमा छ। माथिल्लो तामाकोशी जलबिद्युत आयोजना र एक दर्जन जलविद्युत परियोजनाहरूको प्रवेशद्वारको रूपमा रहेका सिंगटी बजारका व्यापारिक सम्भावना पर्याप्त भए तापनि राजनीतिक दलहरूको उपेक्षा र निर्णयहरूका कारण बजारले अपेक्षित विकासको गति लिन नसकेको स्थानीयहरू बताउँछन्।
यस बजारको व्यवस्थित विकासका लागि स्थानीय बुद्धिजीवी, नागरिक समाज, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति लगायतले गरेका पहलकदमीहरू गौरवपूर्ण छन्। हालसम्म सिंगटी खोलातटको तटबन्धन योजना नै बजार संरक्षण र दिगो विकासको दृष्टिले महत्वपूर्ण योजना बनेको छ जसका लागि नेपाल सरकार तथा जल उत्पन्न प्रकोप न्यूनीकरण कार्यक्रमप्रति आभार प्रकट गरिन्छ।
आज सिंगटी बजारका करिब ७०० भन्दा बढी साना–ठूला व्यवसायीहरू, करौडौँको लगानीमा बनेका घरधनीहरू र सर्वसाधारण नागरिकहरू आगामी दिनहरूमा थप चुनौतीहरूको सामना गर्ने स्थिति नआओस् भन्नका लागि एकजुट हुन जरुरी छ। राजनीतिक दल, सरकारी निकाय र सरोकारवाला संस्थाहरूले सिंगटी बजारलाई नमुना बजार बनाउन सशक्त योजना र कार्यान्वयनमा जुट्नुपर्छ।
अब आवश्यक छ — सरकारी बैंक, सरकारी कार्यालय र सेवाहरूको स्थायी उपस्थिति, व्यवस्थित योजना र दिगो विकासका पहलहरूमा सबैको साझा प्रतिबद्धता।
सिंगटी बजारलाई समुन्नत र सुव्यवस्थित बनाउने जिम्मेवारी हामी सबै सिंगटीवासी र सरोकारवालाहरूको काँधमा छ।





