राजावादी आन्दोलनभित्र शक्ति संघर्ष: लिङ्देनको नेतृत्व संकट र कमल थापाको उदय

0Shares

राजावादी आन्दोलनभित्र शक्ति संघर्ष: लिङ्देनको नेतृत्व संकट र कमल थापाको उदय

थाङमिचागु डटकम संवाददाता

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा काठमाडौंमा सोचेभन्दा धेरै भीड देखिएपछि राजावादीहरू उत्साहित भए। राजतन्त्र पुनर्स्थापना अभियानलाई तीव्रता दिन ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ गठन गर्ने तयारी भयो। तर, नेतृत्व चयनमा सहमति जुट्न कठिन भएपछि आन्दोलनले आन्तरिक शक्ति संघर्षको रुप लिन थाल्यो।

प्रारम्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व दिने प्रस्ताव भए पनि राप्रपा नेपाल अध्यक्ष कमल थापा र अन्य वरिष्ठ नेताहरूले असहमति जनाए। अन्ततः ‘पूर्व पञ्च’ नवराज सुवेदीलाई संयोजक बनाउने निर्णय भयो। सुवेदी पञ्चायत कालका चर्चित नेतामध्ये एक हुन्, जसले २०४६ को जनआन्दोलन दबाउने भूमिकामा रहेर आलोचना बेहोरेका थिए।

लिङ्देनको संकट

सुवेदी संयोजक भएपछि आन्दोलनको नियन्त्रण उनीसँग गएको छ, जसमा लिङ्देनलाई नेतृत्वभन्दा पर धकेलिएको देखिएको छ। आन्दोलनमा सहभागी दलहरूमाथि निर्णय लिन उनी नै अगाडि छन् भने लिङ्देन ‘लतारिँदै’ सहभागी भएको राप्रपाका नेताहरू बताउँछन्।

रत्नपार्कमा जेठ १५ गतेको प्रदर्शनमा लिङ्देन सबैभन्दा ढिला पुगे, र उनले कमल थापाबाट हस्तान्तरण गरिएको झण्डा समेत सुरुमा लिन अस्वीकार गरेका थिए। साथै, राप्रपालाई अन्य स–साना समूहहरू बराबरको हैसियतमा राखिनुले उनी असन्तुष्ट भएको बुझिन्छ।

नेतृवको दाबी, तर स्पष्ट वक्तव्य छैन

राप्रपाभित्रै लिङ्देनले नेतृत्व पाउनुपर्ने दाबी गरे पनि स्पष्ट बोल्न नसकेको आरोप छ। पार्टी बैठकमा समेत नवराज सुवेदी नेतृत्वको समितिले एकपक्षीय निर्णय गर्दा लिङ्देन अप्ठ्यारोमा परेका छन्। सचिवालय कहाँ राख्ने भन्ने बहसमा पनि चावहिलस्थित राप्रपा कार्यालय अस्वीकार गर्दै सुवेदीले कमल थापाको पार्टी कार्यालय रोजे, जसले आन्दोलनमा लिङ्देनको कमजोर भूमिका झल्काउँछ।

आन्दोलन वा महाधिवेशन?

राप्रपाका महासचिव धवलशमशेर जबराले राजावादी आन्दोलनमा नेतृत्व लिँदै सक्रियता बढाएका छन्। संयुक्त जनआन्दोलन परिचालन समितिबाट समेत जनआन्दोलन परिचालनको जिम्मा उनलाई दिइएको छ। पार्टीभित्र अबको महाधिवेशनपछि नेतृत्व परिवर्तन हुनसक्ने आकलनले लिङ्देन थप तनावमा छन्।

लिङ्देनले फेसबुकमा आन्दोलनबारे छुट्टै स्टाटस लेख्दै “सल्लाहबिना पार्टी सहभागी हुने छैन” भन्ने संकेत गरेका छन्। यसले आन्दोलनमा उनी र समितिको सम्बन्धमा खटपट देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *