असोज महिनाको अविरल बाढीपहिरोले बस्ती नै बगाएपछि विस्थापित परिवार त्रिपालमुनि

0Shares

असोज महिनाको अविरल बाढीपहिरोले बस्ती नै बगाएपछि विस्थापित परिवार त्रिपालमुनि

थाङमिचागु डटकम संवाददाता

असोज महिनाको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-६, चनौटेका तामाङ बस्ती पूर्ण रूपमा बगाएपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। तल बागमती खोला गड्गडाउँदै बगिरहेको छ, र माथि लुइचे पाखामा त्रिपाल टाँगेर बसेका परिवारहरूले आफ्नो पुरानो बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन्।

चनौटे बस्तीका फुलबहादुर रुम्बा लामा सहितका सात परिवारले सबै घरखेत बगाएपछि त्रिपालको आश्रयमा कष्टकर जीवन बिताइरहेका छन्। बाढीले १२ जनाको उनको परिवारको नागरिकता, कागजातहरू, र सम्पत्ति सबै बगाएको छ। यस्तै अरू ६ परिवार पनि उनीहरूसँगै त्रिपालमुनि आश्रय लिएर बस्न बाध्य भएका छन्।

बाढीले आठ घरसहितका सबै खेतबारी र संरचना बगाएको छ। गाउँपालिकाले तत्कालका लागि त्रिपाल, खाद्यान्न, र ओढ्नका लागि कम्बलजस्ता राहत सामग्री उपलब्ध गराए पनि उनीहरूको स्थिति अत्यन्त कठिन बनेको छ। घरबारविहीन भएपछि बालबालिका र वयस्क सबै खुला आकाशमुनि त्रिपालमा बस्न बाध्य छन्।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार बाढीपहिरोले ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, र लघुजलविद्युत् आयोजनालगायत संरचनाहरू पूर्ण रूपमा ध्वस्त गरिसकेको छ। कतिपय परिवारसँग त त्रिपाल टाँग्ने जमिनसमेत नभएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *