अपशब्द बोलेर हातपात गरेपछि चिर्पट प्रहार, हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

0Shares

अपशब्द बोलेर हातपात गरेपछि चिर्पट प्रहार, हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

थाङमिचागु डटकम संवाददाता

त्रिवेणी (रुकुम–पश्चिम) । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ स्थित दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीनजना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा आज बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शंकास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशब्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ,”  प्रहरी निरीक्षक शाहीले भने, “यसमा सन्तोषको पनि संलग्नता देखिएको छ, थप अनुसन्धानबाट खुल्नेछ ।”

घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *