कुलमान घिसिङअघि सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड, यतिखेर ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफा

0Shares

कुलमान घिसिङअघि सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड, यतिखेर ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफा

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हबिगत नेपाल वायु सेवा निगमजस्तै उच्च घाटा खाने खराब सूचीमा दर्ज थियो, आर्थिक वर्ष २०७२/७३ सम्म । अर्थात् उच्च नोक्सानी बेहोर्ने सार्वजनिक संस्थानमा प्राधिकरणको नाम अग्रपंक्तिमा थियो ।

हुन पनि २०७०/७१ मा प्राधिकरणको खुद नोक्सान ४ अर्ब ७० करोड रुपैयाँ थियो । सरकारले बेलाबखत ऋण अपलेखन (ऋण माफ) को चरणबाट गुज्रदै थियो, प्राधिकरण । 

यतिखेर प्राधिकरण यस्तो नोक्सानी बेहोर्ने संस्थानभित्र पर्दैन । अर्थ मन्त्रालयले गत जेठमा सार्वजनिक संस्थानहरूको अवस्थामा २०८०/८१ मा उच्च नाफा गर्नेमा दोस्रो स्थानमा छ । कुल ४४ सार्वजनिक संस्थानमा २६ वटा नाफा र १५ वटा घाटामा चलेको सरकारी तथ्यांकले देखाउँछ ।
 
गत आर्थिक वर्ष नाफा गर्नेमा नेपाल आयल निगम शीर्ष स्थानमा रहँदा विद्युत् प्राधिकरण दोस्रोमा रह्यो । 

झन्डै १० वर्ष अघिसम्म अर्बौँ घाटामा रहेको संस्थान कसरी शीर्ष स्थानमा उक्लिन सफल भयो ? घाटामा संस्थानलाई के कामले नाफामा ल्यायो त ? यसको प्रमुख कारण हो, सही ठाउँमा सही नेतृत्व हुनु ।  

२०७३ भदौ २९ गते सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्‍यो । 

प्राधिकरणको नेतृत्वमा घिसिङ आएपछि प्राधिकरणको छवि पनि सुध्रियो । १८ घण्टे लोडसेडिङ, घट्दै गयो । उच्च घाटामा रहेको संस्थान नेतृत्व परिवर्तनसँगै प्राधिकरणको व्यवस्थापनमा पनि निकै परिवर्तन आयो । 

यसअघि चिलिमे जलविद्युतको कुशल व्यवस्थापक बनेका थिए, घिसिङ । पहिलो कार्यकालमा सफल देखिएपछि घिसिङलाई दोस्रो कार्यकालमा पनि नियुक्त गर्नुपर्ने भन्दै रसुवामा आन्दोलन चर्किएको थियो ।

घिसिङ प्राधिकरण नेतृत्वमा आउने बित्तिकै चुहावट घटाउनेदेखि लोडसेडिङ व्यवस्थापनमा लागे । यसरी सुरु भएको प्राधिकरणको नाफा यात्रा हालसम्म कायम छ । 

घिसिङ नेतृत्वमा आउनुअघि आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरणको खुद नोक्सानी एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ थियो । आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएर सुरु गरेको प्राधिकरण लय हालसम्म उस्तै छ । 

प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ । 

“आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले  ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,” घिसिङले बाह्रखरीसँग भने, “एउटा सार्वजनिक संस्थान र लोडसेडिङ हुने संस्थानलाई यहाँसम्म ल्याउँदा धेरैको मन पोलेको होला ।”

घिसिङ नेतृत्वमा आएपछि प्राधिकरणको नाफाको ‘ग्राफ’ बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४३ करोड, आर्थिक वर्ष २०७/०७६ मा नाफा बढाएर दोहोरो अंक पुर्‍यायो ।

उक्त वर्ष ११ अर्ब ७५ करोडको नाफा कमाएर इतिहास रचेको थियो । यस्तै २०७७/७८ मा नाफा घटेर ६ अर्ब १० करोडमा झरेको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड पुग्यो । यस्तै आर्थिक वर्ष २०७९/८० मा नौ अर्ब ४१ करोड र गत आर्थिक वर्षको अपरिस्कृत तथ्यांक अनुसार १३ अर्ब ३१ करोड रुपैयाँ रहेको घिसिङ बताउँछन् ।

प्राधिकरणले हाल कागजी नाफा देखाएको दाबी गर्दै प्रश्न उठाउनेहरू पनि नभएका होइनन् । 

संसद्को सार्वजनिक लेखा समितिमै प्राधिकरणले कागजी नाफा देखाएर कर तिरेको भन्दै एमाले सांसद गोकुल बाँस्कोटाले दह्रैसँग प्रश्न उठाएका थिए । 

त्यस्ता प्रश्नका सन्दर्भमा घिसिङको जवाफ छ, “केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाब किताबप्रति आशंका व्यक्त गर्ने गरेको देखिन्छ । महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब कसरी ‘फेक’ हुन्छ ।”

उनी प्रश्न गर्छन, “आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु सुखद् विषय होइन र ? विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पुँजीगत लगानी गरेको छ । नाफा नभएको भए यो कसरी सम्भव भयो ?”

साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी पनि घिसिङले दिए ।

“यसबाट प्रष्ट छ संवैधानिक अंग महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिक रुपमा लगानीका लागि एउटा दह्रो स्रोत हो ” उनले भने । 

भारतीय बजारमा विद्युत् बिक्रीको सुरुवात

प्राधिकरणले २०७८ वैशाख १८ मा प्रवेश पाएको थियो । उक्त वर्षपछि प्राधिकरणको नाफामा निरन्तर वृद्धि हुँदै गएको छ ।  हाल प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड, रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । 

विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेको छ । निर्यातको मात्रा बढ्दै गएको छ । गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

घिसिङका अनुसार, हाल दैनिक ७०० मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको छ । “वर्षायाम अर्थात् जुनदेखि नोभेम्बरसम्म विद्युत् निर्यात गर्ने हो । त्यसपछि त हामीलाई चाहिन्छ” उनले भने । 

यस्तै सुख्खायाममा नदी सतहमा पानीको बहाव घट्दा गत वर्ष १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको जानकारी घिसिङले दिए । उनका अनुसार, आयात निर्यात ‘ग्राफ’ हेर्दा गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ ।

“आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट हामी खुद विद्युत् निर्यातकर्ता बनेका छौं,” उनले भने, “नेपालको जलविद्युत् विकासका लागि कोशेढुङ्गो  हो ।”

नाफा वृद्धि हुनुमा चुहावट नियन्त्रण पनि प्रमुख रहेको घिसिङ बताउँछन् । प्राधिकरणको तथ्यांक अनुसार ८ वर्ष अघिसम्म प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । गत आर्थिक वर्षमा प्रणालीको चुहावट करिव १२ दशमलव ७३  प्रतिशतमा झरेको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणले यस अवधिमा प्रतिवर्ष करिव १२ अर्व रुपैयाँ थप आम्दानी गरेको छ ।

प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ भने विगत आठ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १७०६ मेगावाट थप भएको छ । 

जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै छ । थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास ऊर्जाको ६ मेगावाटको योगदान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *