चितवनमा मान्छे आक्रमण गर्ने बाघ १६ घण्टापछि नियन्त्रणमा

0Shares

चितवनमा मान्छे आक्रमण गर्ने बाघ १६ घण्टापछि नियन्त्रणमा

थाङमिचागु डटकम संवाददाता

२० साउन, चितवन । चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ ।

चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट लागेको छ । बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन् ।

नजिकैको नरकटको घना झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत तर्साउने गरेको थियो । बाघसँग बिच्किएका हात्तीहरु माहुतेलाई छाडेर बजार क्षेत्रबाट भागेका थिए ।

एउटा हात्ती पश्चिम चितवनको शिशुवार पुगेको थियो भने अर्को हात्ती भागेर भरतपुर १९ को निलडाँडा पुगेको थियो । पछि फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

‘घना घारी भएकाले पहिचान गर्न पनि समस्या भयो, हात्ती लैजान पनि टाढा र समस्या भयो, सबै चासोपाँजो मिलाउँदा समय पनि लाग्यो’, निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘हामीले विहानै खबर आए पछि नै एक टोली पठाएर बाघलाई त्यहाँबाट अन्यत्र भाग्न दिएका थिएनौं, अन्यत्र भागेको भए उसले अरु धेरै ठाउँमा आक्रमण गर्न सक्थ्यो ।’

विगतमा बाघलाई नियन्त्रणमा लिने १ महिनासम्म समय लागेको इतिहास रहेको सूचना अधिकारी तिवारीले बताए । नियन्त्रणमा लिएको यो बाघको उमेर र लिङ्ग खुलेको छैन । बाघलाई सौराहामा रहेको निकुञ्जको खोरमा लगेर राखिने सूचना अधिकारी तिवारीले बताए ।

सौराहामा रहेका २ वटा खोरमध्ये एक खोर खाली छ, अर्को खोरमा ठोरीबाट डार्ट गरेर ल्याएको बाघ राखिएको छ । निकुञ्जसँग सौराहामा २, कसरामा ३ र भरतपुर- १३ देवनगरमा २ बाघ राख्न सक्ने क्षमता छ ।

अहिले कसरामा ३ र देवनगरमा २ बाघ छन् । थप बाघ नियन्त्रणमा लिनुपरेमा अब राख्ने ठाँउसमेत नभएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *