नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा पुगेपछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीति ।।।

0Shares

नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा पुगेपछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीति ।।।

श्रावण १८, २०८१ थाङ्मीचागु डटकम  संवाददाता

काठमाडौँ —नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा पुगेपछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा रहेको छ । कांग्रेस–एमालेको गठबन्धन बनेपछि प्रतिपक्षमा पुगेको माओवादीले निष्क्रिय रहेका पार्टीका गतिविधिलाई तीव्रता दिन लागेको हो । 

सडक र सदनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा आगामी साता स्थायी कमिटीको बैठक बस्ने र टुंगो लगाउने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए । ‘जनतासँग जोडिने गरी कार्यक्रम तय गर्न साउन २५ देखि स्थायी समिति बैठक तय भएको छ,’ उनले भने, ‘बैठकले संसद् र सडकमा गर्ने कार्यक्रम तय गरी अनुमोदानका लागि केन्द्रीय समितिमा प्रस्तुत गर्ने छ ।’

कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि माओवादी नेतृत्वको सरकारले सुरु गरेका काम अवरुद्ध गर्ने काम भइरहेको आरोप लगाउँदै प्रवक्ता सापकोटाले त्यसका लागि पनि संसद् र सडकबाट दबाबमूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको बताए ।

स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक समीक्षासहित आगामी पार्टीका कार्यक्रमबारे प्रस्ताव पेश गर्ने तयारी छ । जुन कांग्रेस-एमाले गठबन्धन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकामा केन्द्रित हुनेछ ।

माओवादी नेतृत्वको सरकारले सुरु गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र विकास निर्माणका काममा अवरोध नगर्न एमाले अध्यक्ष केपी ओली सरकारलाई दबाब दिने भएको छ । त्यस्तै, देशव्यापी रुपमा संगठन सुदृढीकरण र माओवादी नेतृत्वको सरकारले गरेको काम लिएर स्थानीय स्तरसम्म पुग्ने कार्यक्रम बनाउन लागेको सापकोटाको भनाइ छ 

यही साता पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले संसद् र सडकबाट प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको थियो । सरकारमा रहँदा पार्टी सगठन अपेक्षित रुपमा परिचालन नभएको निष्कर्ष निकालेको बैठकले आगामी दिनमा जनता केन्द्रीत कार्यक्रम तय गर्ने र त्यसका लागि स्थायी समिति बोलाएको हो ।

‘स्थायी र केन्द्रीय समितिको बैठकपछि देशव्यापी रुपमा जनता माझ जाने कार्यक्रम तय हुनेछन्’ सापकोटाले भने, ‘त्यसका लागि पदाधिकारी बैठकमा खुला र स्पष्ट छलफल भइसकेको छ भने स्थायी र केन्द्रीय समितिमा पनि व्यापक छलफल भएर निर्णयमा पुग्ने छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *