भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका ८५ जनाको शव काठमाडौंको गोकर्णेश्वरस्थित जंगलमा व्यवस्थापन गरिएको छ।
सोमबार मध्यान्हसम्म पनि पहिचान हुन नसकेका ती शवलाई सोमबार बेलुका सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका–७ स्थित नेपाल ट्रस्टको नाममा रहेको जंगल क्षेत्रमा व्यवस्थापन गरेको हो। यसअघि ती शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएका थिए।
शव व्यवस्थापन गर्नुअघि प्रहरीले पहिचानका लागि आफ्नो वेबसाइटमार्फत शवको विवरण तथा तस्वीर सार्वजनिक गरेको थियो। साथै डीएनए परीक्षणका लागि आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।
सोमबार दिउँसोपछि फेला परेका शव भने हाल त्रिवि शिक्षण अस्पतालमै राखिएका छन्। ती शव पनि केही दिनभित्र पहिचान हुन नसकेमा आवश्यक प्रक्रिया पूरा गरी गोकर्णेश्वरमै व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिचान हुन नसकेका शव तथा अवशेषको डीएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरू तथा काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाट आफन्तको नमुना संकलन गर्ने कार्य भइरहेको छ।
भोटेकोशी बाढीबाट ठूलो मानवीय क्षति भए पनि शवहरू छेदविछेद अवस्थामा फेला पर्ने तथा कतिपय अवस्थामा शरीरका विभिन्न अंग मात्रै भेटिने भएकाले पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। यसका कारण अझै ठूलो संख्यामा शव आफन्तलाई बुझाउन सकिएको छैन।




