बिगुमै करदाता सेवा विस्तार, अब गाउँपालिकाबाटै कर सेवादोलखा ।
2026-08-13स्कुले विद्यार्थीको पुस्तकको बोझ घटाउने सरकारको तयारी
2026-08-13नेपाल फर्किए लगत्तै देउवा सरकारलाई चेतावनी दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँधिए मुलुककै लागि हितकर हुँदैन
2026-08-13
आठराई बजारमा एलपी ग्यासको अनुगमन, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणमा प्रशासनको जोड
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

आठराई बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएको गुनासो आएपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले बजारमा रहेका ग्यास विक्रेता तथा डिलरहरूको अनुगमन गरेको छ।
एलपी ग्यासको आपूर्ति तथा उपलब्धताको वास्तविक अवस्था बुझ्न इलाका प्रशासन कार्यालय आठराईको नेतृत्वमा इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक विवेक बस्नेतसहितको टोलीले बजार क्षेत्रका विभिन्न ग्यास विक्रेता तथा डिलरहरूको अनुगमन गरेको हो।
अनुगमनमा सशस्त्र प्रहरी बेस, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसमेत सहभागी थिए। टोलीले ग्यास विक्रेताका गोदाम तथा बिक्री केन्द्रमा पुगेर ग्यासको मौज्दात, उपलब्धता, बिक्री वितरणको अवस्था तथा उपभोक्ताले तिर्नुपर्ने मूल्यलगायतका विषयमा जानकारी लिएको थियो।
अनुगमनका क्रममा केही डिलरमा एलपी ग्यासको मौज्दात पर्याप्त रहेको पाइएको छ भने केही डिलरमा तत्कालका लागि ग्यासको मौज्दात नरहेको अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ।
यद्यपि, हालसम्म सर्वसाधारणले ग्यास प्राप्तिका लागि ठूलो सास्ती व्यहोर्नुपरेको अवस्था नदेखिएको तथा बजारमा ग्यासको मूल्यमा समेत तत्काल कुनै समस्या नरहेको पाइएको छ।
अनुगमन टोलीले ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन विक्रेता तथा डिलरहरूलाई उपभोक्तामैत्री ढंगले बिक्री वितरण गर्न आग्रह गरेको छ। साथै, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने, कालोबजारी गर्ने वा अस्वाभाविक रूपमा मूल्यवृद्धि गर्ने गतिविधि हुन नदिन निगरानी बढाउने जनाएको छ।
एलपी ग्यास दैनिक उपभोगको अत्यावश्यक वस्तु भएकाले यसको नियमित आपूर्ति र सहज उपलब्धता सुनिश्चित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि तथा व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने तथा बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।





