सुस्ताको बाँध पुनर्निर्माणमा विद्यार्थी नेता मैदानमा दीपक धामीसहितको टोलीले गर्यो श्रमदान
2026-08-08मनहरामा सुकुम्वासीको प्रदर्शन माग पूरा नभए भदौ १२ देखि सत्याग्रह
2026-08-08
स्याङ्जामा मरुभूमिको खजुर लटरम्मफल्दा तोडियो पुरानो मान्यता
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

खजुर मरुभूमि भएका साउदी अरब, कतारलगायतका देशमा मात्रै फल्छ भन्ने आमधारणा स्याङ्जामा गलत साबित भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुवामा यस वर्ष खजुरको बोट लटरम्म फलेपछि स्थानीयवासी उत्साहित भएका छन्।
रोजगारीका सिलसिलामा साउदी अरब पुगेका करिब ६२ वर्षीय बाबुराम ढकालले नेपाल फर्किँदा साथमा ल्याएको खजुरको बीउ परीक्षणका रूपमा रोपेका थिए। उनले बालुवा, मल र माटो मिसाएर रोपेको उक्त खजुरको बोटले करिब सात वर्षपछि राम्रो उत्पादन दिन थालेको हो।
गत वर्ष सामान्य मात्रामा फल लागेको भए पनि यस वर्ष भने बोटमा प्रशस्त खजुर फलेको ढकालले बताए। उनका अनुसार खजुर खेतीका लागि पर्याप्त घाम र उच्च तापक्रम आवश्यक पर्ने भएकाले गर्मी बढी हुने जिमुवा क्षेत्रलाई उपयुक्त ठानेर बीउ रोपिएको थियो।
“नेपालमा पनि खजुर उत्पादन सम्भव हुन्छ भन्ने विश्वास थियो। यस वर्ष अपेक्षाभन्दा राम्रो फल लागेपछि व्यावसायिक खेतीको सम्भावना देखिएको छ,” ढकालले भने।
सफल उत्पादनपछि ढकालले व्यावसायिक रूपमा खजुर खेती विस्तार गर्ने योजना बनाएका छन्। उनले खजुरका बिरुवा उत्पादनसमेत सुरु गरिसकेका छन्। इच्छुक कृषकलाई बिरुवा उपलब्ध गराउनुका साथै खजुर खेतीसम्बन्धी आवश्यक प्राविधिक परामर्शसमेत दिँदै आएको उनले जानकारी दिए।
स्थानीयस्तरमै खजुरको सफल उत्पादन भएपछि जिमुवामा नयाँ कृषि सम्भावनाको ढोका खुलेको छ। खजुर मरुभूमि तथा अत्यधिक गर्मी हुने देशमा मात्रै फल्छ भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै स्याङ्जाको उत्पादनले नेपालका अन्य उपयुक्त हावापानी भएका क्षेत्रमा समेत खजुर खेती विस्तार गर्न सकिने सम्भावना देखाएको छ।
कृषकहरूले व्यावसायिक रूपमा खजुर खेती विस्तार गर्न सके आयआर्जनको नयाँ स्रोत सिर्जना हुनुका साथै आयातित खजुरको विकल्पका रूपमा स्वदेशमै उत्पादन बढाउन सकिने अपेक्षा गरिएको छ।





