सर्पदंशबाट साउन २१ सम्म ५६ जनाको मृत्यु जोखिम न्यूनीकरणबारे सरोकारवालाबीच छलफल

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

मनसुनको समयमा सर्पदंशका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा सर्पदंशका प्रमुख कारण, जोखिम न्यूनीकरणका उपाय, जनचेतना अभिवृद्धि तथा सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचारका विषयमा विस्तृत छलफल गरिएको थियो ।

प्राधिकरणका अनुसार २०८३ साल वैशाख १ गतेदेखि साउन २१ गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना दर्ता भएका छन् । ती घटनामा ५६ जनाको मृत्यु भएको छ भने ७१९ जना घाइते भएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा धेरै सर्पदंशका घटना कञ्चनपुर जिल्लामा दर्ता भएका छन् ।

कार्यक्रममा सहभागी विज्ञहरूले सर्पदंशबाट हुने जोखिम न्यूनीकरणका लागि गाउँ–गाउँसम्म जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । साथै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराउने र एन्टी–स्नेक भेनम उपलब्ध हुने उपचार केन्द्रबारे सर्वसाधारणलाई पर्याप्त जानकारी गराउनुपर्ने सुझाव उनीहरूले दिएका छन् ।

मनसुनका बेला सर्पको टोकाइका घटना बढ्ने भएकाले विशेष सावधानी अपनाउन गृह मन्त्रालयले समेत आग्रह गरेको छ । सर्पले टोकेपछि धामी–झाँक्री वा घरेलु उपचारको भर नपरी तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुगेर उपचार गराउन मन्त्रालयले सबै नागरिकलाई अनुरोध गरेको छ ।

सर्पदंशको समयमा समयमै उपचार पाएमा ज्यान जोगाउन सकिने भएकाले जोखिम क्षेत्रका नागरिकले विशेष सावधानी अपनाउन र सर्पदंशसम्बन्धी भ्रम तथा गलत उपचार पद्धति त्याग्न सरोकारवालाहरूले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *