पत्रकारको आवरणमा लागूऔषध कारोबारको आरोप : ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन पक्राउ ।।।

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

पत्रकारको परिचयलाई आवरण बनाएर लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार साउन २० गते शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रमा सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शंकाको आधारमा रोकी जाँच गरेको थियो। जाँचका क्रममा कारको गियर बक्सभित्र लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन फेला परेको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा सिराहा लक्ष्मीपुर गाउँपालिका–२ निवासी २६ वर्षीय उमेश कुमार यादव, सिराहा लहान नगरपालिका–१० निवासी ३० वर्षीय रोमेश कुमार राम र सिराहा लक्ष्मीपुर गाउँपालिका–२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार कार चालक उमेश कुमार यादवले आफू ‘Janjagaran Khabar’ का न्यूज रिपोर्टर भएको परिचय दिएका थिए। तर, उक्त परिचयको आडमा लागूऔषध ओसारपसार गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ४४.३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कार बरामद गरेको छ। साथै, उक्त कार काठमाडौंस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको खुलेको ब्युरोले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकहा, सिन्धुली पठाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *