श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
थाङ्मीचागु डटकम
दार्चुला, असार १८।
नेपालमा विकास निर्माण केवल सरकारी बजेट र ठेक्का प्रणालीबाट मात्र सम्भव हुन्छ भन्ने परम्परागत सोचलाई चुनौती दिँदै श्रम संस्कृति पार्टीका संस्थापक अध्यक्ष, श्रम पिता तथा माननीय सांसद को आह्वान र अभियानमा दार्चुलाको अन्तर्गत काठा दुम्लिङमा श्रमदान र जनसहयोगबाट निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन सम्पन्न भएको छ।

गत २०८२ चैत २४ गते शिलान्यास गरिएको उक्त पुल श्रम संस्कृति पार्टीका श्रम अगुवाहरूको अथक नेतृत्व, देश–विदेशमा रहेका मनकारी सहयोगीहरूको आर्थिक योगदान, स्थानीयवासीको सक्रिय सहभागिता तथा चार सयभन्दा बढी श्रमदाताको निरन्तर श्रमदानबाट अढाई महिनामै निर्माण सम्पन्न भएको हो। लामो समयदेखि पुलको अभाव झेल्दै आएका स्थानीयका लागि यो उपलब्धि विकासको नयाँ इतिहास बनेको छ।

निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रमुख अतिथि श्रम पिता तथा माननीय सांसद हर्कराज साम्पाङ राईको हातबाट सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी तथा माननीय सांसद क्याप्टन पूर्ण लिम्बू को उपस्थिति रहेको थियो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, श्रम संस्कृति पार्टीका श्रम अगुवाहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

श्रम पिता हर्कराज साम्पाङ राईले अघि बढाएको श्रम संस्कृतिको अभियानले देशका विभिन्न भूभागमा विकासप्रतिको नयाँ चेतना जगाएको सहभागीहरूको भनाइ थियो। श्रम, अनुशासन, पारदर्शिता र जनसहभागितालाई आधार बनाएर विकास सम्भव हुन्छ भन्ने सन्देश दार्चुलाको यो पुलले व्यवहारमै पुष्टि गरेको उनीहरूको धारणा छ।

श्रम संस्कृति पार्टीका श्रम अगुवाहरूले देखाएको समर्पण, संगठन क्षमता र निरन्तर श्रमले यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरूले बताएका छन्। देशका विभिन्न जिल्लाबाट आएका श्रमदाताहरूले आफ्नो समय, श्रम र सीप निस्वार्थ रूपमा समर्पण गरेपछि अढाई महिनामै पुल निर्माण सम्पन्न हुन सफल भएको हो। देश–विदेशमा रहेका मनकारी नेपालीहरूले आर्थिक सहयोग गरेर अभियानलाई थप बल पुर्याएका थिए।

पुल निर्माण अभियानका एडमिन म्यानेजर नवीन राईका अनुसार चार सयभन्दा बढी श्रमदाताको निरन्तर सहभागिता, श्रम संस्कृति पार्टीका श्रम अगुवाहरूको व्यवस्थापन तथा सहयोगीहरूको विश्वासले यो अभियानलाई सफल बनाएको हो।

प्राविधिक इन्जिनियर डम्बर लिम्बूका अनुसार स्थानीयको आवश्यकता र मागलाई केन्द्रमा राखेर पुल निर्माण गरिएको हो। वर्षायाममा खोला तर्नुपर्ने जोखिम, विद्यार्थीको पढाइमा पर्ने असर, किसान तथा यार्चागुम्बा संकलनमा जाने स्थानीयको कठिनाइलाई मध्यनजर गर्दै पुल निर्माण गरिएको उहाँले बताउनुभयो।

स्थानीय सविता बुढाथोकीका अनुसार सरकारी निकायबाट दुई पटक सर्वेक्षण भए पनि वर्षौँसम्म पुल निर्माण हुन सकेको थिएन। तर श्रम संस्कृतिको अभियान सुरु भएपछि छोटो समयमै पुल बनेको देख्दा स्थानीयवासीमा नयाँ आशा जागेको छ। वीरेन्द्र बुढाथोकीले यो अभियानलाई जनशक्तिको विजयका रूपमा व्याख्या गर्नुभयो भने द्रोपती जोहारीले पुल सञ्चालनसँगै जोखिमपूर्ण खोला तर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।

स्थानीयवासीका अनुसार श्रम पिता हर्कराज साम्पाङ राई दुम्लिङ पुगेपछि मात्र यस क्षेत्रप्रति राज्यको ध्यान आकर्षित हुन थालेको अनुभव उनीहरूले गरेका छन्। उनीहरूको भनाइमा, उहाँको आगमनपछि नेपाल टेलिकमको टावर स्थापना, यातायात पहुँच विस्तारका लागि ट्र्याक निर्माण तथा अन्य विकास निर्माणका कामले पनि उल्लेखनीय गति लिन थालेको छ। यसले दुर्गम क्षेत्रका नागरिकमा राज्यप्रति नयाँ आशा जागेको उनीहरूको विश्वास छ।

पुल सञ्चालनमा आएपछि विद्यार्थी, किसान, स्थानीय बासिन्दा तथा यार्चागुम्बा संकलनमा जाने नागरिकले सुरक्षित र सहज आवतजावत गर्न पाएका छन्। वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यताको अन्त्यसँगै स्थानीयवासीमा खुसी छाएको छ।

दार्चुलामा सम्पन्न यो अभियानले श्रम, इमानदारी, पारदर्शिता र जनसहभागिता भए विकास असम्भव छैन भन्ने सन्देश दिएको छ। श्रम पिता हर्कराज साम्पाङ राईको नेतृत्व, श्रम संस्कृति पार्टीका श्रम अगुवाहरूको अथक मेहनत, देश–विदेशका सहयोगीहरूको उदार साथ र स्थानीय समुदायको एकताले यो झोलुङ्गे पुललाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी श्रम संस्कृतिको ऐतिहासिक प्रतीक तथा देश विकासको वैकल्पिक मोडलका रूपमा स्थापित गरेको छ।




