तमाङ भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनका लागि इराकमा ‘सोनाम ल्होछार २०२६’ को भव्य तयारी

0Shares

तमाङ भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनका लागि इराकमा ‘सोनाम ल्होछार २०२६’ को भव्य तयारी


सुलैमानिया (इराक), ३१ डिसेम्बर २०२५।
तमाङ भाषा, धर्म, संस्कार, संस्कृति तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराक ले आगामी सोनाम ल्होछार २०२६ लाई भव्य रूपमा मनाउने तयारी तीव्र बनाएको छ।
सन् २०१८ मा स्थापना भएको नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले तमाङ समुदायबीच एकता मजबुत बनाउँदै मौलिक पहिचानको जगेर्ना गर्दै आएको छ। यही अभियानलाई निरन्तरता दिँदै “तमाङ भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गरौँ” भन्ने मूल नारासहित वृहद सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम सन् २०२६ जनवरी २३ का दिन अर्कार हल, सुलैमानिया मा बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेपालका चर्चित सेलो गायक तथा संगीतकार प्रकाश तमाङ (तितुङ) र मेहेन्दोमाया तथा लोकदोहोरी गायिका मनमाया वाइबा तमाङ को विशेष प्रस्तुति रहनेछ।
कार्यक्रमबारे जानकारी दिँदै तमाङ घेदुङ इराककी महिला उपाध्यक्ष सरिता बल तामाङ ले थाङ्मीचागु डटकम सँग भनिन्,
“प्रवासमा रहे पनि हाम्रो भाषा, धर्म, संस्कार र संस्कृति जोगाउनु हामी सबै तमाङको साझा दायित्व हो। सोनाम ल्होछार २०२६ को यो कार्यक्रमले तमाङ समुदायलाई एकताबद्ध गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना थप बलियो बनाउने विश्वास लिएका छौँ।”
उनका अनुसार कार्यक्रमलाई भव्य, मर्यादित र सफल बनाउन आयोजक समिति, सहयोगी संस्था तथा सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक रहेको छ।
नेपाल तमाङ घेदुङ कुर्दिस्तान–इराकले इराक तथा आसपासका मुलुकमा रहेका सम्पूर्ण तमाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछार २०२६ लाई ऐतिहासिक बनाउन हार्दिक आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *