मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
दोलखाको पशुपति चौलागाईं अस्पताल आर्थिक संकटमा
दोलखाको पशुपति चौलागाईं अस्पताल आर्थिक संकटमा
थाङमिचागु डटकम संवाददाता

दोलखा, १४ कार्तिक २०८२
दोलखाको सदरमुकाम चरिकोटस्थित बागमती प्रदेश अन्तर्गतको पशुपति चौलागाईं अस्पताल स्वास्थ्य बीमा भुक्तानी नआएपछि गम्भीर आर्थिक संकटमा परेको छ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले करिब ८६ लाख रुपैयाँभन्दा बढी भुक्तानी नदिँदा अस्पतालको नियमित सेवा प्रभावित हुन थालेको छ। आर्थिक अभावका कारण औषधि खरिद, ल्याब, एक्स–रेलगायतका सेवा सञ्चालनमा समस्या देखिएको छ।
अस्पताल संचालन समितिका अध्यक्ष सुबास रिमालका अनुसार आवश्यक रकम नआए आगामी केही महिनाभित्र ल्याब र एक्स–रे सेवा पूर्णरूपमा बन्द हुने अवस्था आएको छ। यस वर्ष प्रदेश सरकारले अस्पतालको बजेट पनि ५० लाखबाट घटाएर २८ लाख रुपैयाँ मात्र विनियोजन गरेपछि अवस्था झनै गम्भीर बनेको हो।
अस्पतालका प्रमुख डाक्टर लक्ष्मण खड्काका अनुसार दैनिक करिब २०० बिरामी अस्पतालमा आउने गरेका छन्, तर विशेषज्ञ डाक्टरको कमी र आर्थिक अभावका कारण सेवा विस्तार असम्भव बनेको छ।
गत साउनमा विज्ञापन खुलाइएका विशेषज्ञ डाक्टरका आधा दर्जन पदमा आवेदन नपरेको पनि अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले प्रदेश सरकार र सम्बन्धित निकायसँग तत्काल आर्थिक सहयोग र बीमा भुक्तानी दिलाउन आग्रह गरेको छ।
दोलखाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था मानिने पशुपति चौलागाईं अस्पतालले सामान्य उपचारदेखि डायलासिससम्मका सेवा प्रदान गर्दै आएको छ। तर आर्थिक संकट गहिरिँदै जाँदा अस्पताल सञ्चालनमै चुनौती उत्पन्न भएको छ।





