मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
मन्त्री कुलमान घिसिङ भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा सहभागी
भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा सहभागी
थाङमिचागु डटकम संवाददाता

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
मन्त्री घिसिङ सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गर्नुभएको हो। नयाँ दिल्लीमा आयोजना हुने महासभा १०–१३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ। यसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
सभामा सदस्य राष्ट्रबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे उच्चस्तरीय छलफल हुने बताइएको छ। नेपालको तर्फबाट मन्त्री घिसिङले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको छ भने अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो।
सन् २०१५ नोभेम्बरमा पेरिस घोषणामार्फत स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को उद्देश्य सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रयोग विस्तारमा साझा चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नु हो। यस पहलमार्फत सन् २०३० सम्म एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने र सौर्य प्रविधिको विकास–उपयोगमा मार्गनिर्देशन गर्ने लक्ष्य राखिएको छ।
नेपाल २०७८ साल भदौमा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन गरेपछि १०१ औं सदस्य राष्ट्रको रूपमा ISA मा औपचारिक रूपमा आवद्ध भएको थियो।
मन्त्री घिसिङले महासभामा सहभागिता पूरा गरेपछि बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।





