रौतहटमा जेन–जी आन्दोलनका क्रममा जलेको प्रहरी भवन पुनःनिर्माण, स्थानीयले हस्तान्तरण गरे

0Shares

रौतहटमा जेन–जी आन्दोलनका क्रममा जलेको प्रहरी भवन पुनःनिर्माण, स्थानीयले हस्तान्तरण गरे

थाङमिचागु डटकम संवाददाता

गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन पुनःनिर्माण गरी स्थानीयवासीहरूले शनिबार औपचारिक रूपमा प्रहरीलाई हस्तान्तरण गरेका छन्।

आन्दोलनका क्रममा भवनमा आगजनी हुँदा प्रहरी कार्यालय बस्न अयोग्य बनेको थियो। त्यसपछि स्थानीयवासीहरूले चन्दा संकलन र श्रमदानमार्फत पुनःनिर्माण कार्य सुरु गरेका थिए। करिब दुई महिनाको अवधिमा भवन पुनःनिर्माण सम्पन्न गरी पुनः प्रयोगमा ल्याइएको हो।

हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक (DSP) रुपा लाबुङले जलेको भवनलाई छोटो अवधिमै पुनःनिर्माण गरी प्रशासनिक र अनुसन्धान कार्य सुचारु गर्न सहज बनाएकोमा स्थानीय अभियन्ताहरू प्रति आभार व्यक्त गरिन्।

भवन निर्माणका लागि स्थानीयहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेका थिए।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीका अनुसार, पुनःनिर्माण अभियानमा शिवराम राउत, बलराम भण्डारी र तेजविक्रम कार्की लगायतको उल्लेखनीय योगदान रहेको छ।

चन्द्रनिगाहपुरका युवाहरूको पहलमा बजार क्षेत्रमा रहेको अस्थायी प्रहरी पोस्ट पनि पुनःस्थापना गरिएको छ।
हस्तान्तरण समारोहमा सहभागीहरूले भवन पुनःनिर्माणमा सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *