प्रधानमन्त्री ओलीको भनाइ देशका लागि योगदान गर्ने नै सच्चा नेता

0Shares

प्रधानमन्त्री ओलीको भनाइ देशका लागि योगदान गर्ने नै सच्चा नेता

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने जो कोही पनि देशकै नेता भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आइतबार बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंहजस्ता व्यक्तित्व कुनै दल विशेषका नभई सम्पूर्ण राष्ट्रका नेता भएको स्पष्ट पारे।

उनले योगदानलाई मूल्यांकन गर्दा राजनीतिक दलको आधारमा विभेद गर्नु उचित नहुने धारणा राख्दै, प्रजातन्त्रका लागि जीवन समर्पण गर्ने अघिल्लो पुस्ताका नेताहरूलाई सरकारले उचित सम्मान दिनुपर्ने बताए। “राजनीतिक परिवर्तनका झन्डा बोक्ने नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितमा जोखिम मोले,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले राजनीति कुनै गैरसरकारी संस्था नभएको उल्लेख गर्दै एक व्यक्ति धेरै पार्टीमा नभई एउटै पार्टीमा बसेर राजनीति गर्नुपर्नेमा जोड दिए। उनले नेपालको राजनीतिक परिवर्तनका संघर्षहरूमा कांग्रेस र कम्युनिष्ट दुवैले कठिन परिस्थितिमा साथ दिएको इतिहास स्मरण गराए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको विकास र स्थायीत्वका लागि ठूला दुई दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको बताए। उनले सहकार्य र प्रतिस्पर्धा दुवैलाई सन्तुलनमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

सो अवसरमा प्रधानमन्त्री ओलीले वरिष्ठ स्रष्टाहरू नयनसिंह कठायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (बैरागी काईँला), र भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशीसहित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरे।

नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत स्थापना गरिएको उक्त पुरस्कार सन् २०७८ मा कार्यविधि जारी भएपछि नियमित रूपमा वितरण हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *