अछाम-बाजुराका पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

0Shares

अछाम-बाजुराका पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

थाङमिचागु डटकम संवाददाता

काठमाडौं, असार १७ गते

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा योगदान पुर्‍याएका अछाम–बाजुरा क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद **दिलबहादुर कुँवर (बूढथापा)**को योगदानमा आधारित स्मृतिग्रन्थ राजधानी काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

उक्त ग्रन्थको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लोकार्पण गरेका थिए। लोकार्पण समारोहमा बोल्दै बडूले बूढथापाको योगदान केवल परिवार र समाजमा मात्र नभई सिंगो राष्ट्रकै लागि प्रेरणादायी रहेको बताए। उनले भने, “राणा शासनको कठोर अवस्थामा विद्यालय स्थापना गर्नु क्रान्तिकारी कदम थियो।”

कार्यक्रममा अछाम क्षेत्र नम्बर १ का सांसद शेरबहादुर कुँवरले बूढथापाले अछाममा मालपोत कार्यालय स्थापनादेखि डोटीमा हजारौं युवालाई साथ लिएर गरिएको आन्दोलनसम्मको नेतृत्व गरेका सम्झिए। उनले बूढथापाको योगदानलाई ऐतिहासिक दस्तावेजमा रूपान्तरण गर्नु गौरवको विषय भएको बताए।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कुलबहादुर कुँवरले बूढथापाबाट समाजसेवा र भ्रष्टाचारविरुद्धको भावना सिकेको उल्लेख गरे। कार्यक्रमका सभापति समेत रहेका उनले स्मृतिग्रन्थ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे।

वरिष्ठ साहित्यकार प्रमोद दाहालले स्मृतिग्रन्थमा समेटिएको सामग्रीलाई ऐतिहासिक र अनुसन्धानको दृष्टिले महत्वपूर्ण ठहर गर्दै “यो पीएचडी स्तरको सामग्री हो” भनी टिप्पणी गरे। उनका अनुसार ग्रन्थमा धेरै नयाँ र रोचक तथ्यहरू समेटिएका छन्।

सांसद बूढथापा, नेपाली कांग्रेस अछामका पहिलो निर्वाचित सभापति समेत थिए। वि.सं. २०१५ को संसदीय चुनावमा ९,६०५ मत ल्याएर विजयी भएका उनी २०१७ सालको कांग्रेसको केन्द्रीय महाधिवेशनबाट बिपी कोइराला नेतृत्वको केन्द्रीय समिति सदस्य समेत चयन भएका थिए।

स्मृतिग्रन्थका प्रमुख सम्पादक विमल भौकाजी हुन् भने सम्पादक मण्डलमा शेरबहादुर कुँवर, प्रेमबहादुर कुँवर र कुलबहादुर कुँवर रहेका छन्।

बूढथापाका जेठा सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले उक्त ग्रन्थको प्रकाशन गरेका हुन्। बलबहादुरले “मृतप्रायः गौरवमय इतिहासलाई पुनर्जीवित गर्ने सानो प्रयास” भएको बताए।

वि.सं. १९६४ असार १७ गते जन्मिएका दिलबहादुर कुँवरको निधन वि.सं. २०५९ भदौ २९ गते भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *