मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
रौतहट सीमामा तस्करीको सञ्जाल फेरी सक्रिय, सुरक्षाकर्मी र राजनीतिक संरक्षणमा तस्करी मौलाउँदै
रौतहट सीमामा तस्करीको सञ्जाल फेरी सक्रिय, सुरक्षाकर्मी र राजनीतिक संरक्षणमा तस्करी मौलाउँदै
गाङमिचागु डटकम संवाददाता

रौतहट, वैशाख २८ – भारतसँगको खुला सिमाना भएको रौतहट जिल्ला फेरि एकपटक तस्करीका गतिविधिका कारण चर्चामा आएको छ। ईशनाथ नगरपालिकाअन्तर्गत पर्ने बन्जरहा, औरैया र मठिया क्षेत्र भारतीय तस्करहरूको सुरक्षित रुटका रूपमा परिचित बन्दै गएका छन्। स्थानीय स्रोतका अनुसार, यी नाकाबाट दैनिकरूपमा कपडा, सूर्तीजन्य पदार्थ, चोरीका मोबाइल र ल्यापटपजस्ता संवेदनशील सामग्री नाइट बसमार्फत काठमाडौँसम्म तस्करी भइरहेको छ।
रामपुरखाप लगायतका सीमावर्ती नाकाबाट इन्धन, मदिरा, किराना, माछा, कुखुरा, गिट्टी–बालुवा, जुत्ता, तयारी पोशाकलगायतका सामग्रीहरू नियमितरूपमा भारतबाट नेपाल भित्र्याइने गरेको जनाइएको छ। तस्करीको यो अवैध कारोबारमा स्थानीय सुरक्षाकर्मीहरूको संलग्नता रहेको आरोप समेत लागिरहेको छ।
स्थानीयवासीका अनुसार, जिल्ला प्रहरी कार्यालयमा हालै भएको नेतृत्व परिवर्तनसँगै तस्करीमा एक्कासी तीव्रता आएको छ। नयाँ प्रहरी प्रमुखले तस्करी नियन्त्रणमा कस्तो भूमिका खेल्ने भन्नेमा स्थानीयवासी आशंकित छन्। औरैया, मठिया र बन्जरहास्थित प्रहरी चौकीका सुरक्षाकर्मीहरू नै निगरानीको नाममा तस्करीलाई संरक्षण दिइरहेको गुनासो सुनिएको छ।
“सुरक्षा दिने जिम्मेवारी पाएका प्रहरी आफैं तस्करसँग मिलेर काम गरिरहेका छन्,” एक स्थानीयले नाम नखुलाउने शर्तमा भने, “राजनीतिक संरक्षण पाएका व्यक्तिहरूले खुलेआम तस्करी गरिरहेका छन्, आवाज उठाउनेलाई धम्की दिइन्छ।”
भारततर्फका बजारबाट सस्तोमा ल्याइने लाखौँ रुपैयाँ बराबरका कपडा, जुत्ता, सूर्ती र अन्य उपभोग्य सामग्रीहरू सीमा नाकाबाट रातारात भित्र्याइन्छन्। स्रोतहरूका अनुसार, केही प्रभावशाली स्थानीय नेताहरूले तस्करहरूलाई संरक्षण दिँदै आएका छन्, जसका कारण सुरक्षाकर्मीहरू पनि दबाबमा रहेको बताइएको छ।
सुरक्षाकर्मी र राजनीतिक आडमा सीमावर्ती क्षेत्रमा तस्करी खुलेआम चलिरहेका घटनाहरूले राज्यप्रतिको जनविश्वासमा गम्भीर आघात पुगेको छ। अबको प्रमुख चुनौती भनेकै नयाँ प्रहरी नेतृत्वले तस्करी नियन्त्रणमा कति प्रभावकारी भूमिका खेल्न सक्ने भन्नेमा रहेको छ।





