रौतहट सीमाक्षेत्रमा तस्करीको बढ्दो चपेटा, सुरक्षाकर्मी र स्थानीय नेताको संलग्नतामा प्रश्नचिन्ह

0Shares

रौतहट सीमाक्षेत्रमा तस्करीको बढ्दो चपेटा, सुरक्षाकर्मी र स्थानीय नेताको संलग्नतामा प्रश्नचिन्ह
थाङमिचागु डटकम संवाददाता

मेवालाल यादव, रौतहट — नेपाल–भारत सिमानामा पर्ने संवेदनशील जिल्ला रौतहटमा तस्करी पुनः तीव्र भएको छ। विशेषगरी ईशनाथ नगरपालिकाका बन्जरहा, औरैया, र मठिया क्षेत्रहरू भारतीय तस्करहरूको आश्रयस्थल बनेको भन्दै स्थानीयहरू चिन्तित देखिएका छन्।

स्रोतका अनुसार, ईशनाथको औरैया नाकाबाट दैनिक पाँच नाइट बसहरू काठमाडौंतर्फ गइरहेका छन्। ती बसहरूमा भारतीय तयारी कपडा, सुर्तीजन्य वस्तुहरू, चोरीका मोबाइल फोन, ल्यापटपजस्ता संवेदनशील सामग्रीहरू रातारात तस्करी भइ रहेका छन्।

रामपुरखापलगायत अन्य सीमा नाकाहरू हुँदै मदिरा, इन्धन, किराना, माछा, कपडा, जुत्ता, तयारी पोशाक, गिट्टी–बालुवा, कुखुरा र अन्य उपभोग्य वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याउने कार्य तीव्र हुँदै गएको छ।

स्थानीय बासिन्दाहरूको भनाइअनुसार, हालै मात्र प्रहरी उपरीक्षकको सरुवा भएपछि तस्करी झनै खुलेआम भएको हो। नयाँ प्रहरी प्रमुख तस्करी नियन्त्रणमा कत्तिको सक्षम हुने हुन् भन्ने विषयमा जनस्तरमा गम्भीर चासो व्यक्त गरिएको छ।

अधिकांश तस्करी रातको समयमा नाइट बस प्रयोग गरेर गरिन्छ, जसमा स्थानीय प्रहरी चौकीहरू विशेषगरी औरैया, मठिया र बन्जरहा चौकीका सुरक्षाकर्मीहरूको संलग्नता रहेको जनगुनासो आएको छ। उनीहरूकै मिलेमतोमा तस्करी सञ्चालन भइरहेको आरोप छ।

त्यसमाथि, भारततर्फका बजारबाट सस्तो मूल्यमा ल्याइएका लाखौं रुपैयाँ बराबरका सामग्रीहरू नेपाल भित्र्याउन केही तस्करहरूलाई स्थानीय राजनीतिक नेतृत्वले संरक्षण गरिरहेको पनि खुलेको छ। यसरी तस्करी, सुरक्षाकर्मी, र राजनीतिक संरक्षणको त्रिकोणीय गठबन्धनका कारण राज्यप्रति जनताको विश्वास गम्भीर रूपमा खस्किएको स्थानीयको भनाइ छ।

“प्रहरी नै असुरक्षाको कारण बन्न थालेपछि सर्वसाधारण कसरी सुरक्षित हुने?” — एक स्थानीय बासिन्दाले भने।

बढ्दो तस्करीले सीमाक्षेत्रमा राज्यको नियन्त्रण खस्किँदै गएको संकेत दिएको छ। अबको मुख्य प्रश्न भनेको हाल नियुक्त प्रहरी प्रमुखले यो चक्र रोक्न सक्लान् कि सक्दैनन् भन्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *