नौ बुँदे प्रस्तावमा सहमति हुने निश्चित छैन – महासचिव तुला बहादुर थापा

0Shares

काठमाडौँ- नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच जारी वार्ताको परिणाम अझै अनिश्चित देखिएको छ। महासंघका महासचिव तथा वार्ता समिति सदस्य तुलाबहादुर थापाका अनुसार प्रस्तावित ९ बुँदेमा हस्ताक्षर हुने नहुने अहिले नै भन्न सकिने अवस्था छैन।
शिक्षा मन्त्रालयमा आज दिउँसो २ बजे वार्ता तय गरिएको छ। सो वार्ताबाट केही निष्कर्ष निस्किने अपेक्षा गरिएको छ। यद्यपि, मंगलबार पनि वार्ता भए पनि ठोस सहमति भएको छैन।
महासंघले शिक्षा ऐन तुरुन्त जारी गर्ने लिखित ग्यारेन्टीसहित मन्त्रिपरिषद्ले कार्यान्वयन गर्नुपर्ने ९ बुँदे मागपत्र अघि सारेको छ। महासचिव थापाले भने,‘आज २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ। हाम्रा ९ बुँदे प्रस्तावमा हस्ताक्षर हुने नहुने निश्चित छैन।’
शिक्षक आन्दोलन २९ औँ दिनमा प्रवेश गरिसकेको छ। वार्ता निरन्तर भए पनि आन्दोलन अन्त्यतर्फ मोडिने संकेत अझै स्पष्ट छैन।
यस्ता छन् ९ बुँदे माग
(१) सातवटै प्रादेशिक अस्पताल र निजामती अस्पतालबाट सबै शिक्षक, कर्मचारीको सहुलियतमा उपचार गराउने व्यवस्था गर्ने।
(२) राहत, अस्थायी, करार, साबिक उमावि, बालविकास शिक्षक र कर्मचारी बिरामी बिदा सञ्चित गर्ने र त्यसबापतको रकम एकमुस्ट दिने।
(३) बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी, लेखापालका लागि दरबन्दी कायम गरी प्रतिमहिना ३२९०२  हजार तलब दिने र कार्यालय सहयोगी तथा श्रेणीविहीन २६०८५ कर्मचारीको तलब वृद्धि गर्ने।
(४) निजामतीसँग मिल्दोजुल्दो हुने गरी शिक्षकको ग्रेड वृद्धि गर्ने।
(५) स्थायी र अस्थायी कोटाका सबै शिक्षकले निजामती कर्मचारीसरह दुर्गम भत्ता पाउनुपर्ने।
(६) संस्थागत विद्यालय शिक्षक कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष तय गर्ने।
(७) मर्यादाक्रममा शिक्षकलाई विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने।
(८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिकको सरह हुने व्यवस्था गर्ने र
(९) प्रधानाध्यापक, शिक्षक र कर्मचारीमाथि स्थानीय तहबाट जथाभावी सरुवा गर्ने, तलबभत्ता नदिनेजस्ता धम्की रोक्नुपर्ने र कारबाही बदर गर्नुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *