मेयर महतोको गलत रवैयाको विरोधमा संयुक्त विज्ञप्ति जारी ।।।

0Shares

मेयर महतोको गलत रवैयाको विरोधमा संयुक्त विज्ञप्ति जारी ।।।

थाङमिचागु डटकम संवाददाता

हेम प्रसाद पासवान, मंसिर २, सिरहा ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोको जातिवादी र क्रूर रवैयाले स्थानिय जनप्रतिनिधिहरूलाई आक्रोशित बनाएको छ । पछिल्लो समय मेयर महतोका गतिविधिहरूका कारण नगरपालिकाको समग्र विकास प्रभावित भएको भन्दै सम्पूर्ण वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूले औपचारिक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

मेयर महतोले पदभार ग्रहण गरेदेखि नै नगरपालिकामा विकासका कुनै पनि महत्वपूर्ण कामहरू अघि बढ्न सकेका छैनन् । नगरपालिकाको प्रशासनिक संरचनामा आफ्ना निकट व्यक्तिहरूलाई मात्रै राख्ने , कृषि जोन सम्बन्धी निर्णयलाई उल्ट्याई आफ्नो व्यक्तिगत स्वार्थ अनुसार निर्णय गर्ने, र अन्य जनप्रतिनिधिहरूको सुझावलाई बेवास्ता गर्ने कामले समग्र विकास प्रक्रियामा बाधा पुर्‍याएको आरोप उनीमाथि लागेको छ ।

मेयर महतोले स्थानिय खोला-नालाहरूको संरक्षणमा कुनै ध्यान नदिएको, जनताको दैनिक समस्यालाई सम्बोधन गर्न नचाहेको, र भेटघाटका क्रममा निराशाजनक व्यवहार प्रदर्शन गरेको गुनासो जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् । साथै, जातिय व्यक्तिहरूलाई प्राथमिकता दिँदै प्रशासनिक निर्णयहरूमा अन्यायपूर्ण हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ ।

स्थानिय जनप्रतिनिधिहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मेयर महतोलाई आफ्नो रवैया परिवर्तन गर्न र नगरपालिकाका समसामयिक समस्याहरू समाधान गर्न केन्द्रित हुन आह्वान गरेका छन् । उनीहरूले मेयर महतोको राजनीतिक भिजनको अभावका कारण धनगढीमाई नगरपालिकाले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् ।

यस संयुक्त विज्ञप्तिले नगरपालिकामा आन्दोलन सुरु हुने स्पष्ट संकेत दिएको छ । जनप्रतिनिधिहरूले समस्या समाधानका लागि तत्काल कदम चाल्न नसके नगरपालिकामा थप ठूलो राजनीतिक अस्थिरता सिर्जना हुन सक्ने चेतावनी दिएका छन् ।

जनतामा व्यापक असन्तुष्टि फैलिएको र मेयर महतो असफल मेयरको रूपमा चिनिन थालेको जनप्रतिनिधिहरूको भनाई छ । अब नगरपालिकाको नेतृत्वले कसरी यो संकटलाई समाधान गर्छ भन्ने प्रतिक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *