सिन्धुपाल्चोकमा पहिरोले ६ जनाको ज्यान गयो; ४ जना बेपत्ता

0Shares

शनिबार १२ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

तीन दिनदेखिको निरन्तर वर्षापछि निम्ताएको पहिरोले शनिबार घर र रिसोर्ट पुर्दा सिन्धुपाल्चोकमा छुट्टाछट्टै तीन घटनामा ६ जनाको ज्यान गएको छ। ती घटनामा चार जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धुबिच रिसोर्ट पुर्दा दुई जनाको मृत्यु भएको छ। त्यहाँ पुरिएर दुई जना बेपत्ता रहेको सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए। मृतक दुवै पुरुष हुन्। पुरिएको अवस्थामा मृत भेटिएका उनीहरुको पहिचान खुल्न सकेको छैन। रिसोर्टबाट अरु १५ पाहुनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको छ।

त्यस्तै, लिसंखुपाखर गाउँपालिका–३ बाफलस्थित काजीबहादुर तामाङको घर पुर्दा उनीसहित दुई जनाले ज्यान गुमाएका छन्। ७३ वर्षीय काजीबहादुर र उनकी श्रीमती सुन्तली तामाङ पुरिएको अवस्थामा मृत भेटिएका हुन्।

उता हिमाली जुगल गाउँपालिका–१ मा व्यक्तिको घर पहिरोले पुर्दा पाहुनासहित दुई जनाको मृत्यु भएको छ। बालकसहित दुई पहिरोले पुरेर भत्किएको घरमा बेपत्ता छन्।

स्थानीय चित्रबहादुर मिजारको घर पुर्दा उनीसहित उनका ज्वाइँ अविनाश नेपालीको मृत्यु भएको डिएसपी भट्टराईले जानकारी दिए। उनका अनुसार त्यहाँ चित्रबहादुरकी श्रीमती र उनका पाँच वर्षीय भाञ्जा पुरिएर बेपत्ता छन्। बेपत्ता सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्लामा बिहीबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ। बाढी र पहिरोले धेरै भौतिक क्षति पुर्‍याएको डिएसपी भट्टराईले जानकारी दिए। शनिबार बिहानदेखि टेलिफोन र मोबाइल नेटवर्क राम्रो नहुँदा क्षतिको विवरण संकलन र राहत उद्धारमा समस्या परिरहेको उनले जानकारी दिए।

पहिरो र नदी कटानले अरनिको राजमार्गसहित मुख्य, सहायक राजमार्ग र अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *