कालिन्चोकमा पोषण प्रवर्द्धनका लागि धार्मिक गुरुहरूसँग क्षमता विकास तालिम सम्पन्न

0Shares

कालिन्चोकमा पोषण प्रवर्द्धनका लागि धार्मिक गुरुहरूसँग क्षमता विकास तालिम सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता , असोज २, २०८१

दोलखा कालिन्चोक गाउँपालिकाको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा, विकास कोष नर्वेको आर्थिक सहयोगमा पोषण प्रवर्द्धनका लागि स्थानीय नेताहरू र धार्मिक गुरुहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ।

तालिमको प्रमुख उद्देश्य धार्मिक र सामाजिक नेताहरूलाई पोषणको महत्त्वबारे जानकारी गराउनु र समुदायमा पोषणसम्बन्धी जनचेतना फैलाउन सक्रिय बनाउनु रहेको थियो। विशेष गरी समुदायका धार्मिक नेताहरूलाई धामीझाँक्रीप्रतिको मात्र विश्वासलाई नहावी, सन्तुलित भोजन र पोषणको आवश्यकता सम्बोधन गर्न सशक्तिकरण गर्ने सन्देश दिइयो।

कालिन्चोक गाउँपालिका–१ का वडा अध्यक्ष पदम थामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दोलखा जिल्लाका नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला संयोजक राजन क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो। तालिममा ७ जना स्थानीय धार्मिक गुरुहरूको सहभागिता थियो, जसले अब समुदायमा पोषण प्रवर्द्धनका सन्देशहरू प्रवाह गर्ने अपेक्षा गरिएको छ।

तालिममा निम्न विषयहरूमा विशेष जानकारी प्रदान गरिएको थियो:

  1. पोषण भनेको के हो?
  2. खानाका प्रकारहरू र तिनको महत्त्व।
  3. सन्तुलित भोजन भनेको के हो, र किन आवश्यक छ?
  4. सन्तुलित भोजनको अभावले स्वास्थ्यमा पर्ने नकारात्मक असरहरू।
  5. कुपोषण भनेको के हो, र यसका न्यूनीकरणका उपायहरू।

कार्यक्रममा सहजीकरण तथा समन्वयको भूमिका पूर्ण थामीले निर्वाह गर्नुभएको थियो। तालीममा सहभागी भएका धार्मिक गुरुहरूलाई पोषणसम्बन्धी ज्ञान दिएर आफ्नो समुदायमा स्वस्थ जीवनशैलीको महत्त्व र कुपोषण न्यूनीकरण गर्न सघाउने दायित्व दिइएको छ।

यो तालिमबाट धार्मिक नेताहरूले समुदायमा पोषण प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *