लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री यति बेला काठमाडौंमा छन् ।

0Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री यति बेला काठमाडौंमा छन् ।

श्रावण २७, २०८१

बुधबारदेखि कुरिरहेका मन्त्रीहरूले आइतबारका लागि मात्र समय पाए, संघबाट कटौती भएको समानीकरण अनुदानको माग राख्ने तयारी
बुटवल —लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री यति बेला काठमाडौंमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संघीय सरकारबाट कटौती भएको समानीकरण अनुदान माग गर्न उनीहरू काठमाडौं हिँडेका हुन् । बुधबारदेखि कुरिरहेका उनीहरूले प्रधानमन्त्री ओलीलाई भेट गर्ने समय भने आइतबारका लागि मात्र पाएका छन् ।

शुक्रबार साँझ ४ बजेका लागि तोकिएको भेटको समय प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित भएपछि दुई दिन सरेको हो ।

संघले प्रदेश सरकारलाई दिने समानीकरण अनुदानतर्फको २ अर्ब १० करोड रुपैयाँ असारमा काटिएपछि लुम्बिनी सरकारको ढुकुटी नै रित्तिएको थियो । सरकारी कोष रित्तो भएपछि प्रदेशले असार २२ मै बजेट भुक्तानी रोकेको थियो । त्यसले लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा काम सम्पन्न गरेर बसेका निर्माण व्यवसायी, उपभोक्ता समिति र विभिन्न संघसंस्थाले साढे २ अर्ब रुपैयाँ बढी भुक्तानी पाउन सकेका छैनन् । त्यही बजेट माग गर्न मुख्यमन्त्री आचार्यसहित एमालेका ५ र कांग्रेसका ४ मन्त्रीको टोली काठमाडौंमै छ ।

शुक्रबार प्रधानमन्त्रीसँगको भेट गरेर शनिबार नै फर्कने तयारी भए पनि भेट्ने समय सरेको लुम्बिनी सरकारका प्रवक्ता एवं कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले बताए । प्रधानमन्त्रीले नै भेट्ने इच्छा राखेकाले आइतबारसम्म सबै मन्त्री काठमाडौंमै रहेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीकै निर्देशनमा मुख्यमन्त्रीज्यूले सबै मन्त्रीलाई काठमाडौं बोलाउनुभएको हो ।’

प्रधानमन्त्रीले सबै प्रदेशका मुख्यमन्त्री र मन्त्रीसँग छलफल गरेर साझा एजेन्डा तय गर्ने, काममा एकरूपता ल्याउने र जनताको आशा र अपेक्षा पूरा गर्ने गरी लाग्ने सुझाव दिनलाई काठमाडौंमै बोलाएको उनले बताए । प्रवक्ता पन्थीका अनुसार प्रधानमन्त्रीले वाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग सामूहिक छलफल गरिसकेका छन् । लुम्बिनीपछि अन्य प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई पनि भेट्ने गरी तयारी भइरहेको जानकारी आएको पनि उनले बताए ।

लुम्बिनीमा गत साउन ९ मा आचार्यको नेतृत्वमा सरकार बनेको हो । मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकाल बुधबार काठमाडौं पुगेका थिए । एमालेका दिनेश पन्थी, खेम सारु, सीता शर्मा चौधरी र कांग्रेसका बादशाह कुर्मी बिहीबार पुगेका हुन् ।

कांग्रेसका सरोज थापा र प्रचण्डविक्रम न्यौपाने त्यसअघि नै काठमाडौं पुगेका थिए । बुधबार काठमाडौं पुगेका मुख्यमन्त्री आचार्य, आर्थिक मन्त्री कार्की र भौतिक पूर्वाधार विकासमन्त्री ढकालको टोलीले बिहीबार अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेललगायतका नेतालाई भेटेको थियो । भेटका क्रममा तीनै जनाले कटौती भएको समानीकरण अनुदान भुक्तानीका लागि पहल गर्ने आश्वासन दिएको मन्त्री ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *