वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित

0Shares

वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित

थाङमिचागु डटकम संवाददाता

काठमाडौं– ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्‍याएको विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले आज आयोजित समारोहमा उनलाई अभिनन्दन गरे । ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल भएका छन्। 

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा रुइत चिनिएको अभिनन्नद पत्रमा उल्लेख छ । डा रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् । 

सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परेतापनि यसको भविश्य भने सुन्दर रहेको बताए। 

‘यो सुन्दर भविष्य निर्माण गर्ने ताप्लेजुङका जनताका प्रतिनिधित्व गर्ने संस्था र विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व र राजनीतिक नेतृत्वबाट जिल्लालाई कसरी विकास र समृद्धिमा अघि डोहोर्‍याउने सफल हुनेछन्’, उनले भने। 

कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गरेका थिए । 

नेकपा ९एमाले०का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले देशका प्रमुख दुई राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र समृद्धिका क्षेत्रमा योगदान दिन सकियोस् भन्ने हेतुले काम गरिरहेको स्पष्ट पारे ।

उनले भने, ‘देशलाई धेरै प्रयोगशाला नबनाऔँ, यी दुई दल इतिहासका निर्मातासँगै एकआपसका प्रतिस्पर्धी पनि हुन्, लोकतन्त्र प्राप्ति, शान्ति प्रक्रिया, संविधान निर्माणलगायत इतिहासका कठिन मोडमा मुलुकलाई अग्रगमनमा लैजान योगदान दिएका दल हुन् ।’ 

अस्थिर राजनीतिका कारण इतिहासको महत्वपूर्ण क्षणमा एक ठाउँमा आउनुपरेको उल्लेख गर्दै एमाले सांसद भट्टराईले वर्तमान सरकार गठन भएसँगै सकारात्मक सन्देश आमजनतामा गएकाले राष्ट्रिय आत्मविश्वास बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । 

ताप्लेजुङवासीका रुपमा डा रुइतले खेलेको भूमिकाका आधारमा उहाँ सम्मानित भएका प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले डा रुइतको योगदान र व्यक्तित्व स्वदेशमा भन्दा विदेशमा उच्च रहेको बताए । 

सम्मानित व्यक्तित्व डा रुइतले कञ्जनजङ्गा हिमाल क्षेत्रको सदुपयोग गरी राष्ट्रले लाभ लिने र तमोर करिडोर सडक निर्माणलाई छिटो सम्पन्न गर्ने कार्यमा ध्यान पुर्‍याउन सरकार, संसद् र राजनीतिक दललाई सुझाव दिए । 

प्राडा सुरेन्द्र केसीले लोकतन्त्र जीवनपद्धति भएकाले समाजलाई सही दिशानिर्देश गर्न र राष्ट्रको गौरव बढाउन यसको मर्म र भावनाअनुसार राजनीतिक दल र सरकारले कार्य सम्पादन गर्नुपर्छ भने ।

सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले ताप्लेजुङको भाषा, संस्कृति, वेशभूषा, राजनीतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेर प्रकाशित गरिएको पुस्तकको अध्ययनबाट सो क्षेत्रको इतिहासबारे बुझ्न र बुझाउन सहज हुने बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *