स्कुल बस दुर्घटनामा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

0Shares

स्कुल बस दुर्घटनामा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

थाङ्मीचागु डटकम संवाददाता
पोखरा, साउन १४

पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

‘आमाले छोरालाई काखमा लिनुभएको रहेछ, आमाको मृत्यु भइसकेपछि उपचारकै क्रममा छोराको पनि मृत्यु भयो,’ एसपी थापाले सेतोपाटीलाई भने।

बस दुर्घटना भएपछि कास्की प्रहरी प्रमुख एसपी थापाको कमाण्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए।

सोमबार विहान ग १ क ६२१९ नम्बरको स्कुल बस रामदीबाट पोखरा आउँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा परेर आरतीको मृत्यु भएको थियो भने छोरा प्रिन्सुको उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो।

पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा विद्यार्थी, शिक्षक र अभिभावकसमेत सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *