दुबईमा दुईतले बस हाँक्छिन् नेपाली महिला

0Shares

दुबईमा दुईतले बस हाँक्छिन् नेपाली महिला
एक वर्षदेखि शान्ति दुबईका सडकहरूमा दुईतले पर्यटकीय बस हाँकिरहेकी छन् । दुबई घुम्न आउनेहरु बस हाँकेको देखेर दंग पर्छन् ।

थाङमिचागु डटकम संवाददाता

२५ असार, काठमाडौं । सन् २०२३ को जून महिनाको एक दिन । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी शहरस्थित सिटी बस कम्पनीमा बस चालकको आवेदन दिनेहरुको भीड थियो ।

पुरुष बस चालकहरुको भीडमा हातमा लाइसेन्स र अरु आवश्यक कागजात बोकेर उभिएकी थिइन् एक नेपाली महिला, शान्ति भण्डारी । जब उनी आवेदन दिने ठाउँमा पुगिन्, कम्पनीका सुरक्षा गार्डले सोधे, ‘कहाँ जान लागेकी ?’

शान्तिले निर्धक्क जवाफ दिइन्, ‘बस चालकका लागि आवेदन दिन आएकी ।

ती सुरक्षाकर्मीको मुहारको भाव फेरियो । उसले केहीबेर उनलाई हेरे र भने, ‘आबुधाबीमा महिलाले बस चलाएको इतिहास छैन ।’

शान्तिले पनि दृढता साथ बोलिन्, ‘इतिहास त बनाउने कुरा हो नि !’

त्यसपटक शान्ति बस चालकका रुपमा छनोट भइनन् । तर त्यसको एक वर्षपछि युएईकै दुबई शहरमा उनी दुईतले बस (डबल डेकर) चलाउने चालकमा छनोट भइन् । खाडीबाट प्रकाशित हुने पत्रिका ‘गल्फ न्युज’ ले गत असार १९ गते शान्तिले इतिहास कायम गरेको भनेर समाचार लेखेको छ ।

‘गल्फ न्युज’ले शान्तिबारे लेखेकाे समाचार (बायाँ) र शान्ति भण्डारी (दायाँ) ।
उक्त समाचारमा शान्तिले भनेकी छन्, ‘मलाई डबल डेकर पर्यटकीय बस चलाउने मध्यपूर्वकै पहिलो महिला हो भनेका छन् ।’

महिला टेम्पो चालकबाट प्रेरणा

ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका–२ को सिंहदेवीमा जन्मे हुर्केकी शान्ति भण्डारी सन् २००२ तिर पढ्न भनेर काठमाडौं आइन् । यहाँ आएर ललितपुरको श्रमजित किशोर माविमा पढ्न थालेकी उनी लगनखेल–जाउलाखेल रुटको टेम्पो चढ्थिन् ।

त्यतिबेला काठमाडौंमा फाट्टफुट्ट महिलाहरुले टेम्पो चलाउन थालेका थिए । उनलाई महिलाले चलाएको टेम्पो चढ्न मन पर्थ्यो । कहिलेकाहीं त उनी महिला चालक भएको टेम्पो पर्खेर बस्दा स्कुल नै ढिला पुग्थिन् ।

महिलाले टेम्पो चलाएको देख्दा उनमा अनौठो ऊर्जा भरिएर आउँथ्यो । ‘टेम्पो चलाउन उहाँहरुलाई पक्कै सजिलो थिएन, तर हिम्मतका साथ चलाएको देख्दा म एकदमै इन्सपायर हुन्थें’ उनी भन्छिन् ।

त्यतिबेलै उनले संकल्प लिएकी थिइन्, महिलाले गर्दै आएका कामभन्दा फरक काम गर्छु भनेर ।

युएईमा पहिले ट्याक्सी त्यसपछि डबल डेकर

सन् २०१५ मा शान्ति रोजगारीको अवसर खोज्दै भिजिट भिसामा युएई पुगिन् । दुबईमा उनकी बहिनी पार्लरमा काम गर्थिन् । युएई पुगेपछि उनले पनि ब्युटिसिएनको रुपमा बहिनीसँगै काम गरिन् । कमाइ राम्रै थियो, तर उनको मन यतिमै अडिरहेको थिएन ।

नेपालमा महिलाले टेम्पो चलाएको दृश्य मस्तिष्कमा घुमिरहन्थ्यो । युएईका चिल्ला सडकहरुमा गाडी गुडेको देख्दा उनलाई पनि गाडी चलाउन मन लाग्यो । तर परदेशमा गाडी चलाउने काम पाउनु त्यति सजिलो थिएन ।

सन् २०१६ मा शान्तिले युएईमा एउटा स्कुल बसमा सुपरभाइजरको काम पाइन् । उनको चाहना भने गाडी हाँक्ने नै थियो । त्यसका लागि पहिले त उनले ड्राइभिङ सिकिन् । २०१७ मा ट्याक्सीको लाइसेन्स निकालिन् ।

लाइसेन्स हात परेपछि शान्तिले अल गहजल नामक ट्याक्सी कम्पनीमा चालकको रुपमा आवेदन दिइन् । कम्पनीले जाँच लिएपछि उनलाई ट्याक्सी चालकको काम दियो ।

जसै ट्याक्सी हात पर्‍यो, दुबईका सडकमा गाडी लिएर निस्किन् शान्ति । ‘ट्याक्सी चलाउँदा, म शहरका हरेक गल्ली र चोकसँग परिचित भएँ’ सुरुवाती दिनहरु सम्झिइन्, ‘मैले पहिलो पटक सपनाको उडान भरें ।’

उनले युएईमा पाँच वर्ष ट्याक्सी नै चलाइन् । तर उनलाई यो भन्दा पनि ठूलो काम गर्न मन लागिरहेको थियो ।

महिला चालकको समाचारले लोभ्यायो

ट्याक्सी चलाउन थालेको दुई वर्षपछिको एक दिन खाडी क्षेत्रका पत्रपत्रिका गल्फ न्युज र खालिज टाइम्समा युएईमा पहिलो पटक महिला चालकले बस चलाएको समाचार प्रकाशित भएको थियो ।

उनलाई पनि बस चलाउने हुटहुटी जाग्यो । ‘उहाँहरु पनि महिला, म पनि महिला, समाचार पढेपछि यस्तै साहसिक काम मैले पनि किन नगर्ने त भन्ने लाग्यो’, शान्तिले भनिन् ।

उनले हेभी गाडी पनि चलाउन सिकिन्, लाइसेन्स परीक्षा दिन जाँदा एक्ली महिला थिइन् । त्यहाँ उनलाई ‘तिमीलाई लाइसेन्स किन चाहियो’ भनेर सोधियो । ‘तिमी सक्छौ’ जस्तो प्रश्न सोधियो । किनभने युएईमा महिला बस चालक निकै कम हुन्थे ।

अन्ततः उनले बस चलाउने लाइसेन्स परीक्षा पनि पास गरिन् । लाइसेन्स भए पनि धेरै कम्पनीहरूले उनलाई काम दिन मानेनन् । ‘सीभी बोकेर धेरै यातायात कम्पनीहरु धाएँ’, उनले ती दिनहरु सम्झँदै भनिन्, ‘महिला भनेर कसैले मलाई काम दिन मानेन ।’

अबुधाबीमा सिटी बस चालकमा आवेदन दिंदा सबै परीक्षा पास गरिन् । तर अन्तिममा अबुधाबीमा महिलाले बस चलाउने कानुनी प्रावधान छैन भनेर फालियो । ‘त्यहाँ मैले धेरै नै आश गरेकी थिएँ’ उनले भनिन्, ‘तर छनोट नहुँदा धेरै नै दुःखी भएँ ।’ तर उनले हिम्मत चाहि‌ं हारेकी थिइनन् ।

पछि उनले दुबई गएर बिग बस टुर्स कम्पनीमा आवेदन दिइन् । ‘आबुधाबीमा महिला चालक हुन पाउने कानुन नहुँदा काम पाएकी थिइन’ उनी भन्छिन्, ‘दुबईमा भने कानुनी बन्देज नभएकाले महिलाले पनि बस चलाउन पाउँथे ।’

आखिर भयो पनि त्यस्तै !

हेभी बस हाँक्ने उनको चाहना ‘बिग बस टुर्स कम्पनीले पूरा गरिदियो । सन् २०२३ मा कम्पनीले उनलाई दुबईमा पर्यटक घुमाउने दुई तले बस (डबल डेकर) चालकका रूपमा छनोट गर्‍यो ।

महिला चालकले बस हाँकेको थाहा पाएर कम्पनीका कार्यकारी निर्देशक माइक लिसले नै उनलाई भेटे । ‘त्यो क्षण मेरो जीवनको सबैभन्दा सुन्दर क्षण थियो’ उनले भनिन्, ‘लाग्यो, मैले आकाश छोएँ ।’

एक वर्षदेखि शान्ति दुबईका सडकहरूमा दुईतले पर्यटकीय बस हाँकिरहेकी छन् । दुबई घुम्न आउनेहरु बस हाँकेको देखेर दंग पर्छन् ।

‘जब म बसको ढोका खोलेर यात्रुहरुलाई स्वागत गर्छु, उनीहरूको अनुहारमा अचम्मको भाव देख्छु’ उनी भन्छिन्, ‘त्यसपछि उनीहरू मसँग सेल्फी खिच्छन् । परदेशमा विदेशीबाट पाएको माया नै मेरो लागि ठूलो उपहार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *