पठाओ राइडर यात्रुसहित खसेका थिए सडकको भ्वाङमा‘धन्न बाइकले थिचेन र बाँचेँ’

0Shares

थाङमिचागु डटकम संवाददाता

१९ असार, काठमाडौं । पठाओ चलाउँदै आएका चाबाहिलका विकल शाक्य बुधबार बिहानै प्यासेन्जर लिएर लैनचौर हुँदै बालाजुतर्फ जाँदै थिए । नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्ड पानीले भरिएको थियो ।

बाटो नै नदेखिने गरी धमिलो पानी भरिएको देखेपछि शाक्यले हुइँकिरहेको मोटरसाइकलको गति कम गरे । बाटोको दायाँ भाग केही चर्किएको देखेपछि उनी बायाँ भागबाट अगाडि बढ्न खोजे ।

जसै केही अगाडि मात्रै मोडिएका थिए, मोटरसाइकल सडकमै परेको भ्वाङमा पर्‍यो । शाक्यसँगै पछाडि बसेका यात्रु खाल्डोमा खस्न पुगे । ‘बायाँ साइडमा राम्रो होला भनेर जान खोजेको, बीचमा ठूलो खाल्डो रैछ’, शाक्यले भने, ‘बाइक पनि खस्यो, मेरो मोबाइल पनि खस्यो ।’

सडकको दुईतिर बाटो भत्केको, बीचमा राम्रो बाटो होला भन्ने सोचेर आफूले बीचबाट मोटरसाइकल लैजान खोज्दा दुर्घटनामा परेको शाक्यले सुनाए । ‘बीचमा त ठूलै खाल्डो रैछ । म पनि छिरें, प्यासेन्जर पनि छिर्‍यो’, उनले भने, ‘बाइकले थिचेको भए मरिहाल्थें । तर म बाइकमाथि परें । बाइकलाई टेकेर माथि रोडलाई सपोर्ट लिएर माथि निस्किएँ । बाँच्न सफल भएँ ।’

खाल्डोमा परेको मोटरसाइकल मर्मतको क्रममा ।
चालक शाक्य र पछाडि बसेका यात्रीलाई केही नभए पनि उनको मोटरसाइकल र मोबाइल खाल्डोमै परेको थियो ।

बिहान करिब पौने ६ बजेतिर खसेको बाइक सशस्त्र प्रहरी, काठमाडौं महानगरको टोलीले करिब साढे ८ बजेतिरमात्रै निकालिएको थियो ।

उद्धार टोलीलाई सुरुमा त शाक्यको बाइक खोज्नै हम्मेहम्मे परेको थियो । खाल्डोमा परेको मोटरसाइकल निकाल्न २ वटा पानी तान्ने मोटर र क्रेन मेसिन प्रयोग गर्नुपरेको थियो । ‘एकछिन त बाइक खोज्नै गाह्रो भयो । झन्डै ११/१२ फिटमुनि खाल्डो परेको रैछ’, उद्धारमा खटिएका एकजनाले भने ।

कसरी पर्‍यो खाल्डो ?

स्थानीयका अनुसार बुधबार बिहान सोह्रखुट्टे–बालाजु सडक खण्डमा पर्ने धारागल्लीमा ठूलो आवाजसहित पड्किएको थियो ।

सडकमा चर्को आवाज आएको केही बेरपछि हेर्दा सडकबाट ह्वालह्वाल्ती पानी आइरहेको थियो । ‘बाटोभरि पानी थियो । कतै ढल फुट्यो होला भनेर खासै वास्ता गरेनौं’, नजिकै भेटिएका स्थानीय फणीन्द्र गुरुङले भने, ‘पछि मोटरसाइकल नै खस्यो भनेपछि बल्ल डरायौं ।’

काठमाडौं नयाँबजार धारागल्लीका गुरुङका अनुसार उक्त क्षेत्रमा अरु धेरै ठाउँमा पाइप ‘लिकेज’को समस्या देखिएको थियो । तर बुधबार घटना भएको स्थानमा भने त्यस्तो कुनै संकेत थिएन । ‘म हिजो साँझ पनि यही बाटोबाट हिँडेको हुँ, त्यस्तो केही थिएन’, उनले भने ।

यद्यपि, अन्य ठाउँमा भएका पानी चुहावटबारे आफूहरूले पटकपटक खानेपानी कार्यालयलाई खबर गरे पनि समाधान नभएको गुनासो गरे । ‘यो ठाउँमा लिकेज छ, त्यो ठाउँमा लिकेज छ पटकपटक भनेका हौं । एक वर्षभन्दा बढी भइसक्यो, सुनेकै छैन’, उनले भने, ‘अब कहाँ कुन दिन बाटो फुट्ने हो, थाहा छैन ।’

बुधबार खाल्डोमा परेर क्षति व्यहोरेका विकल शाक्यले मुख्य सडकमै भएको दुर्घटनाबारे आफूले क्षतिपूर्ति माग गर्ने बताए । ‘यसको रेस्पोन्सिबल को हुनुपर्ने हो थाहा छैन, सडक विभाग हुने हो कि महानगर हो ? क्षतिपूर्ति माग गर्नुपर्ला !’ उनले भने, ‘मेन रोडमै यस्तो नहुनुपर्ने हो । आग्रह गर्छु, रोडहरु चुस्त दुरुस्त बनाओस् । यस्तो घटना फेरिफेरि नदोहोरियोस् ।’

उक्त सडकमा खाल्डो काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बिच्छ्याएको खानेपानीको पाइप पानी चुहिँदा सडकमा क्षति पुगेको हो । लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलका अनुसार उक्त पाइप सुन्दरीजल खानेपानी आयोजनाको मुख्य पाइपलाइन हो ।

यो सडकमा ३ वर्ष अगाडि मात्रै ५ सय मिलिलिटरको पाइप बिच्छ्याइएको लिमिटेडले जनाएको छ । ‘पाइप फुटेको हैन, त्यहाँ ज्वाइनिङ रहेछ, त्यहींबाट लिकेज भएछ’ उनले अगाडि भने ।

पौडेलले उक्त पाइपको पानी चुहावट रोकेर खाल्डो पुर्ने जिम्मा केयूकेयलकै रहेको र त्यसका लागि कर्मचारीहरू खटाइसकेको जानकारी दिए । ‘पाइपको केही मर्मत गरेर खाल्डो हामीले नै पुर्ने हो । त्यसका लागि मान्छेहरू खटिइसकेका छन् । आज रातभरिमा तयार हुन्छ होला !’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *