विप्लवको विद्यार्थी संगठनद्वारा त्रिविका परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक

0Shares

विप्लवको विद्यार्थी संगठनद्वारा त्रिविका परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी)ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लगायत केही पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न सात जनालाई कारवाहीको मागसहित कार्यालय प्रवेशमा रोक लगाईएको संगठनका अध्यक्ष नरेन्द्र सीले जानकारी दिए ।

स्नातक तहका पाँच सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्व रजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिले परीक्षा नियन्त्रक जोशी, सह नियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समिति स्रोतका अनुसार उनीहरू तीन जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख, सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको थियो‌ । उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।

उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *