माओवादी घटकबिच एकता अलपत्र, कहाँ पुग्यो विप्लवसँगको वार्ता ?

0Shares

माओवादी घटकबिच एकता अलपत्र, कहाँ पुग्यो विप्लवसँगको वार्ता ?

थाङमिचागु डटकम संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिचको एकता प्रक्रिया ठोस रूपमा अगाडि बढ्न नसक्दा अन्योल देखिएको छ ।

सैद्धान्तिक रूपमा दुई पार्टीबिच एकता गर्न कुनै मतभिन्नता देखिँदैन तर मार्गदर्शक सिद्धान्त, साङ्गठनिक संरचनाको विषयमा कुरा नमिल्दा एकता प्रक्रियाले ठोस आकार ग्रहण गर्न नसकेको हो ।

यद्यपि एकता प्रक्रियालाई छिटो टुङ्ग्याउन सकारात्मक पहल भइरहेको दुवै पार्टीका शीर्ष नेताहरूको दाबी छ । माओवादी केन्द्रका महासचिव तथा वार्ता टोली सदस्य देव गुरुङले एकताका लागि वैचारिक, सैद्धान्तिक, साङ्गठनिक विषयमा शीर्ष नेताहरूबिच छलफल भइरहे पनि कुनै निष्कर्षमा नपुगेको बताए ।

‘वैचारिक र सैद्धान्तिक विषयमा विप्लवजी लगायत माओवादी अन्य घटकसँग कुनै विवाद छैन । तर साङ्गठनिक विषयमा धेरै कुरा मिलाउन बाँकी छ’, सोमबार रातोपाटीसँग उनले भने, ‘एकतापछि विप्लव लगायत एकता प्रक्रियामा आएका नेताहरूको व्यवस्थापन कसरी गर्ने, साङ्गठनिक संरचना कस्तो बनाउने, पार्टीको कार्यदिशा कस्तो हुने लगायत विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । अहिले कुनै निष्कर्षमा पुगेको छैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग नीतिगत असहमति राख्दै १२ वर्षअघि सम्बन्ध विच्छेद गरेका विप्लव अहिले माओवादी केन्द्रसहितका चार दल सम्मिलित समाजवादी मोर्चाका संयोजक छन् । विप्लवले प्रचण्डसँग सुमधुर सम्बन्ध बनाउँदै लगेका छन् । वैशाखको पहिलो साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकबाट उनले माओवादी केन्द्रसहितका घटकसँग एकता गर्ने निर्णय गराए ।

२०७० देखि निर्वाचन बहिस्कार गर्दै आएको नेकपाले आगामी २०८४ को निर्वाचन उपयोग गर्ने नीति लिएको छ । पार्टीको निर्णयअनुसार नै माओवादी घटकसँग एकता गर्न भएको छलफल सकारात्मक रहेको नेकपाका महासचिव विप्लवले बताएका छन् । पछिल्लो समय समाजवादी मोर्चालाई पुनर्गठन गर्ने तयारीमा रहेका उनले माओवादी केन्द्रसँग एकता गर्न सैद्धान्तिक, वैचारिक र साङ्गठनिक स्वरूपको विषयमा शीर्ष तहमा निरन्तर छलफल भइरहेको बताए ।

‘माओवादी केन्द्रसहितका वामपन्थी घटकहरूबिच एकता गर्ने पार्टीको नीति हो । बृहत् वामपन्थी एकता, सहकार्य र ध्रुवीकरणको विषयमा छलफल सकारात्मक छ । तर ठोस निष्कर्षमा पुगेका छैनौँ । समाजवादी मोर्चामा रहेका शीर्ष नेताहरूसँग पनि मेरो निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक बुझ्दा हुन्छ’, विप्लवले भने ।

यद्यपि एकताका लागि कुन तहसम्मको तयारी भइरहेको छ भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् । विप्लवलाई पार्टीमा भित्र्याउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विशेष पहल गरेका थिए । सुन प्रकरण र शारीरिक अस्वस्थताका कारण पछिल्लो समय महरा निष्क्रिय छन् । नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगरले सैद्धान्तिक र वैचारिक तवरमा माओवादी केन्द्रसँग कुनै मतभेद नभए पनि साङ्गठनिक संरचना र कार्यदिशामा मतभेद रहेको स्वीकार गरे ।

२०६९ को हेटौंडा महाधिवेशनदेखि माओवादी केन्द्रले बहुपदीय प्रणाली अवलम्बन गरेको छ । जसमा अध्यक्ष कार्यकारी भूमिकामा रहन्छन् । नेकपाको जोड महासचिव प्रणालीमा जानुपर्ने छ । एकतापछि विप्लवसहित अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा समस्या देखिएको छ । नेकपाको अहिले १२९ सदस्यीय केन्द्रीय समिति छ । माओवादी केन्द्रको ४०९ सदस्यीय केन्द्रीय समिति छ । माओवादी केन्द्रको मंसिरमा भएको विधान अधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति अनुमोदन गरेको छ । साथै पार्टीको नाम नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी) राख्ने वा नेपाल कम्युनिस्ट पार्टी राख्ने सम्बन्धमा पनि सहमति नभएको बुढामगरले जानकारी दिए ।

‘माओवादी केन्द्रसँग एकता प्रक्रिया सैद्धान्तिक रूपमा मात्रै सीमित छ । थप अगाडि बढेको छैन । पार्टीको निर्णय अनुसार एकताका लागि शीर्ष तहमा छलफल भइरहेको छ’, उनले भने, ‘एकताको मोडालिटी के हुने, एकतापछि साङ्गठनिक संरचना कस्तो बनाउने, पार्टीको नाम के हुने भन्ने विषयमा कुनै सहमति भएको छैन ।’

एकता गरेर महाधिवेशनमा जाने कि सिधै एकता महाधिवेशन गर्ने भन्नेमा पनि दुई पार्टीबिच एकमत नभएको उनको भनाइ छ ।

माओवादी घटकबिच एकता गर्ने प्रचण्डको योजना अलपत्र

विप्लवको पार्टीसँग मात्र होइन, अन्य वामपन्थी घटकसँग एकता, सहकार्य र ध्रुवीकरण गर्ने प्रचण्डको योजना अलपत्र परेको छ । गत आम निर्वाचन लगत्तै पार्टी एकता गर्ने गरी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) सँगको एकतासमेत भाँडिएको छ । भट्टराईलाई बाइपास गरी गत चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने चारबुँदे सहमति गरेपछि नेसपा विभाजन भयो । पार्टी विभाजन प्रश्चात भट्टराईले एकता सहमति नै खारेज गरेका छन् । महिन्द्र समूहसँगको एकता पनि अहिले अगाडि बढ्न सकेको छैन ।

प्रचण्डले २०७९ साल पुस १० गते तेस्रोपटक प्रधानमन्त्री भएपछि नेसपासँग तत्काल पार्टी एकता गर्ने, सत्ता सहयात्री दलहरू एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र सत्ता बाहिर रहेका नेकपासँग समाजवादी मोर्चामार्फत सहकार्य गर्दै एकता प्रक्रियामा जाने तयारी गरेका थिए । सोही बमोजिम माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा, नेकपाले वार्ता टोलीले बनाएर चार/पाँच चरणसम्म छलफल भएको थियो । एकअर्का पार्टीका राजनीतिक दस्ताबेज आदानप्रदान गरेर अध्ययन गर्ने र सुझाव दिने कामसमेत भएको थियो ।

त्यतिबेला माओवादी केन्द्रका उपमहासचिव तथा वार्ताटोली सदस्य गिरिराजमणि पोखरेलले जनयुद्ध दिवस वा नेकपा स्थापना दिवसको अवसर पारेर नेसपा, नेकपामात्र होइन, एकीकृत समाजवादीसँग पार्टी एकता गर्न सकारात्मक पहल भइरहेको दाबी गरेका थिए । तर डेढ वर्ष पुग्दा पनि वामपन्थी दलहरूबिच एकता गर्न माओवादी असफलमात्रै भएको छैन, भएको सहमतिसमेत भाँडिएको छ ।

वर्तमान सरकारमा सहभागी दल जसपा नेपाल विभाजन भएको छ । एकीकृत समाजवादी पनि असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिन खोज्दैछ । माओवादी केन्द्रसहित चार वामपन्थी दल मिलेर बनेको समाजवादी मोर्चाको भविष्य समेत सङ्कटतर्फ धकेलिएको छ । प्रधानमन्त्री प्रचण्ड पार्टी निर्माणमा भन्दा सरकार जोगाउन बढी ध्यान केन्द्रित गर्नुपर्दा एकता प्रक्रियामा समस्या देखिएको सहयात्री दलहरूको निष्कर्ष छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *