राजनीतिले थला परेको पाटन क्याम्पस

0Shares

राजनीतिले थला परेको पाटन क्याम्पस

थाङमिचागु डटकम सम्बतदाता
२०८१ जेठ १८ गते

१८ जेठ, काठमाडौं । ठूला हल कोठा । कोठाका भित्तामा मान्छे छिर्न मिल्ने ठूला भ्वाङ । त्यही कोठाभित्र लहरै राखिएका डेक्स बेन्च । अनि, अघिल्तिर झुण्ड्याइएको ह्वाइट बोर्ड । यो हो नेपालकै ठूलोमध्ये एक पाटन बहुमुखी क्याम्पसको कक्षा कोठा ।

क्याम्पसको गेटबाट प्रवेश गरेपछि दाहिनेपट्टि ईंटाको पर्खाल र टिनको छाना हालिएका चारवटा टहरा भेटिन्छन् । दुई–दुई कोठे अस्थायी टहराहरु पनि छन् ।

अस्थायी टहरा २०७२ सालको भूकम्पपछि एक संस्थाले निर्माण गरिदिएको थियो, जहाँ ठूला–ठूला भ्वाङ परेका छन् । त्यही भ्वाङ परेका टहरामा बसेर पढ्न बाध्य छन् बिहान स्नातक तहको विभिन्न विषयका विद्यार्थीहरु ।

त्यत्ति गर्दा पनि कक्षा कोठा नपुग्ने भएकाले बुद्धिष्ट स्टडिज, नेपाल भाषा, होम साइन्स र जियोग्राफी विभागले कतिपय कक्षाहरु प्रशासनिक भवनमा रहेको विभागको कार्य कक्षमा सञ्चालन गरिरहेका छन् । कतिपय विषय जहाँ कोठा खाली छ, त्यहीँ पढाउने गरिएको छ । कोठा निश्चित नहुने भएकाले विद्यार्थीलाई आज पढाइ कहाँ हुन्छ भनेर सोधखोज गर्नुपर्ने बाध्यता छ ।

‘शिक्षक, कर्मचारी, विद्यार्थी संगठनहरुको राजनीतिक खिचातानीका कारण भूकम्पले क्षति पुर्‍याएका भवनहरु न प्रवलीकरण हुन सकेको छ, न नयाँ भवन नै बनेका छन्,’ एक शिक्षकले भने, ‘विद्यार्थीहरु भ्वाङ परेका टहरामा बसेर पढ्न बाध्य छन् ।’

०७२ सालको भूकम्पले पाटन क्याम्पसको प्रशासनिक भवन, समाजशास्त्र विभाग र विज्ञान तथा सूचना प्रविधि संकायको भवनमा क्षति पुर्‍याएको थियो । विज्ञान तथा सूचना प्रविधि संकायको भवनमा अति खतराको संकेत स्वरुप रातो स्टिकर टाँसिएको छ । प्रशासनिक भवन र समाजशास्त्र विभागको भवनमा पहेँलो स्टिकर टाँसिएको छ । यसले खतरा छ तर कम छ भन्ने संकेत गर्दछ ।

प्रशासनिक भवनमा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरुका कार्यकक्ष, लेखा शाखा लगायत मानविकी तथा सामाजिक विज्ञानका सात वटा विभाग छन् । नयाँ बनेको अर्थशास्त्र विभागको भवनको दोस्रो तला क्याम्पसलाई हस्तान्तरण हुन बाँकी छ । त्यसैले विद्यार्थीहरु अहिलेसम्म पनि तिनै भ्वाङ परेका जीर्ण कोठामा बसेर पढ्न बाध्य छन् ।

निरीह क्याम्पस प्रमुख

इतिहास तथा बुद्धिष्ट अध्ययन विभागकी विभागीय प्रमुख जुनु बासुचोला भ्वाङ परेका भित्ता चाँडो मर्मत गरिदिन क्याम्पस प्रशासनलाई आग्रह गरिएको बताउँछिन् । ‘विद्यार्थीलाई पर्याप्त कक्षा कोठा छैन, टहराको हालत पनि यस्तो छ, चाँडो मर्मत गरिदिन आग्रह गरेका हौं,’ उनले भनिन्, ‘अब वर्षे बिदामा बनाइदिने भन्नुभएको छ ।’

उनका अनुसार क्याम्पसको भौतिक सम्पत्तिमा विद्यार्थीहरुबाटै पटक–पटक क्षति पुग्ने गरेको छ । अस्थायी टहरामा भ्वाङ पार्ने काम भने अनेरास्ववियु पाटन क्याम्पस इकाइले १० चैतमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागीमध्ये केही (मदिराले मातेको ?)ले गरेको भनेर क्याम्पस प्रशासनमा उजुरी पनि परेको छ । तर प्रशासनले न छानबिन गरेर कारबाही गर्‍यो, न कक्षा कोठाको भ्वाङ टालेको छ ।

कक्षाकोठामा क्षति पुर्‍याउने व्यक्ति पहिचान भए पनि क्याम्पस प्रशासनले कारबाही गर्न नसक्ने क्याम्पस प्रमुख डा.लक्ष्मण सिं कुँवर स्वयं बताउँछन् । आफ्नो कार्यकालमा २६ पटक तालाबन्दी र ३६ मुद्दा बेहोरेका क्याम्पस प्रमुख सिंह भन्छन्, ‘कसरी कारबाही गर्ने ? उनीहरुको पहुँच माथिसम्म हुन्छ !’

क्याम्पस प्रमुख डा.लक्ष्मण सिं कुँवर
अर्थशास्त्र विभागको भवन तथा भर्नालाई लिएर पटक–पटक मुद्दा र तालाबन्दी खेपेका उनले भने, ‘अनेक प्रयास गरेर भवन बनायो मुद्दा हालिहाल्छन्, केही नयाँ काम गर्न खोज्यो ताला लगाइहाल्छन् । यहाँ केही गर्नै हुँदैन ।’

चरम राजनीतिले थला पर्दैछ क्याम्पस

पाटन संयुक्त क्याम्पसको इतिहास हेर्ने हो भने त्रिभुवन विश्वविद्यालय भन्दा पनि पुरानो छ । १७ भदौ २०११ मा ‘पाटन इन्टर कलेज’को नामबाट क्याम्पस स्थापना भएको थियो । २०३० सालमा राष्ट्रिय शिक्षा प्रणाली लागू भएपछि ‘पाटन बहुमुखी क्याम्पस’ नाम रहन गयो ।

पाटन क्याम्पसमा मानविकी तथा सामाजिक विज्ञान, व्यवस्थापन र विज्ञान तथा सूचना प्रविधि संकायका स्नातक तहमा २९ र स्नातकोत्तर तहमा १४ वटा विषय पढाइ हुने गरेको छ । यी सबै विषयमा १० हजार बढी विद्यार्थी भर्ना भएका छन् ।

शिक्षक तथा विद्यार्थीहरुका अनुसार चरम राजनीतिकरणले पाटन बहुमुखी क्याम्पसको अवस्था खस्किँदो छ । क्याम्पसले आफ्नो सम्पत्तिको नियमित मर्मत सम्भार र सुरक्षा गर्न पनि सकेको छैन ।

क्याम्पस परिसरमा नियमित सरसफाइ पनि छैन । जताततै घाँस मौलाएको छ । सुकेका झारपात असरल्ल छन् । फाटेका कार्पेट लगायतका निर्माण सामग्रीका जथाभावी फ्याँकिएका छन् ।

पाटन क्याम्पसमा मुख्य गरी कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी तथा कर्मचारीहरुका संगठन छन् । बेला–बेला क्याम्पस प्रशासन र ती संघ/संगठनबीच स्वार्थको द्वन्द्व देखिँदा त्यसको असर पढाइदेखि क्याम्पसका दैनिक क्रियाकलापसम्म पर्ने गरेको छ ।

कांग्रेस निकट नेविसंघले ५ चैत २०८० मा बीएससी सीएसआइटी, बीआइटी, बीबीए र बीसीएका विद्यार्थीका लागि आवश्यक कम्प्युटर ल्याउन ३ पुस २०८० मा सहमति भए पनि कम्प्युटर नल्याइएको भन्दै क्याम्पसमा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दीमा माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुले पनि ऐक्यबद्धता जनाएका थिए । उनीहरुले कम्प्युटर, पुस्तकालयमा पुस्तक, चमेना गृह र खानेपानीको व्यवस्था हुनुपर्ने चार बुँदे माग राख्दै क्याम्पस प्रमुखलाई प्रवेश निषेधको घोषणासमेत गरेका थिए ।

क्याम्पसमा बीएससी सीएसआईटी, बीआईटी, बीसीए, बीबीए जस्ता प्राइभेट कार्यक्रमहरु (क्याम्पस आफैंले शुल्क निर्धारण गर्न पाउने कार्यक्रम) पनि सञ्चालन भइरहेको छ । अरु विषयभन्दा महँगो शुल्क तोकिएको भन्दै क्याम्पसका सह–प्राध्यापक विष्णु दाहाल भन्छन्, ‘पे–प्रोग्रामहरु महँगा र कोटा हुन्छ । ती कोटा विद्यार्थी, कर्मचारी र प्रशासन मिलेर लुकाएर बाँड्छन् ।’
केही माग सम्बोधन भएको र केही माग सम्बोधनको प्रक्रिया अघि बढेपछि २० वैशाखमा उनीहरुले ताला खोलेका थिए । ताला खुलेपछि क्याम्पसले कम्प्युटर खरिद तथा चमेना गृह सञ्चालनको प्रक्रिया अघि नबढाएको विद्यार्थीहरुको गुनासो छ ।

क्याम्पस प्रशासनले न्यूनतम सुविधा समेत उपलब्ध गराउन नसकेको र क्याम्पस प्रमुखले कम्प्युटर खरिद र चमेना गृहको प्रक्रिया रोकेको नेविसंघका क्याम्पस इकाइ अध्यक्ष तारा शर्माको आरोप छ । भन्छन्, ‘सबभन्दा धेरै फण्ड भएको, तर नेतृत्वका कारण गएगुज्रेको हाम्रो क्याम्पस हो । विद्यार्थीका लागि क्याम्पस केही गर्नै चाहँदैन ।’

एक विद्यार्थीका अनुसार विद्यार्थी संगठनहरुले कम्प्युटर खरिद र चमेना गृह सञ्चालन गर्नुअघि क्याम्पसले २०७१ सालमा गरेको विज्ञापन अनुसार कर्मचारी नियुक्त गर्न दबाब दिइरहेका छन् । २०७१ सालमा क्याम्पसले दुई जना कम्प्युटर सहायक, एक–एक पुस्तकालय सहायक र कार्यालय सहायक गरी ४ जना करारका कर्मचारीका लागि विज्ञापन गरेको थियो । विद्यार्थी नेताहरुका आफन्तलाई जागिर खुवाउन खोजिएको भन्दै अख्तियारमा मुद्दा परेपछि रोकिएको थियो ।

अहिले पनि विद्यार्थी संगठनहरुले ती विज्ञापन अनुसार कर्मचारी नियुक्त गर्न दबाब बढाइरहेका छन् । तर विवादमा परिने डरले क्याम्पस प्रमुख त्यसमा अनिच्छुक देखिन्छन् ।

विद्यार्थी भर्नामै गडबडीको आरोप

क्याम्पसमा बीएससी सीएसआईटी, बीआईटी, बीसीए, बीबीए जस्ता प्राइभेट कार्यक्रमहरु (क्याम्पस आफैंले शुल्क निर्धारण गर्न पाउने कार्यक्रम) पनि सञ्चालन भइरहेको छ । अरु विषयभन्दा महँगो शुल्क तोकिएको भन्दै क्याम्पसका सह–प्राध्यापक विष्णु दाहाल भन्छन्, ‘पे–प्रोग्रामहरु महँगा र कोटा हुन्छ । ती कोटा विद्यार्थी, कर्मचारी र प्रशासन मिलेर लुकाएर बाँड्छन् ।’

यसबारे उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्न त्रिविलाई पत्र समेत लेखेको छ । गत २४ माघमा त्रिभुवन विश्वविद्यालयलाई पत्र लेख्दै भनेको छ, ‘बीएससी सीएसआईटी भर्नामा १५ सिट खाली राखी अनुचित रुपमा प्रतिस्पर्धामा नपरेका विद्यार्थी भर्ना गरेको, स्ववियुका अविनास भण्डारी, अशोक दुलाल, मदन देवकोटा र सुशील विष्टले क्याम्पस क्याम्पस प्रमुखसँगको मिलेमतोमा ३५ लाख उठाएकाले कारबाही गरिपाउँ भन्ने उजुरी परेको र आवश्यक कारवाही गरी केन्द्रलाई जानकारी गराउनुहुन अनुरोध छ ।’

अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष वीरेन्द्र मगर त क्याम्पस प्रशासनलाई दबाबमा पारेर स्ववियुले पनि भ्रष्टाचार गरेको आरोप लगाउँछन् । स्ववियुले ३ असोज २०८० मा संविधान दिवसको अवसरमा मौलिक हक तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको भन्दै खर्च भुक्तानीका लागि क्याम्पस प्रशासनमा निवेदन दिएको छ । तर उक्त कार्यक्रम नै नभएको उनीहरुको दाबी छ ।

स्रोतका अनुसार पटक–पटक गरेर क्याम्पस प्रशासनले स्ववियुको खातामा ३० लाख रकम जम्मा गरिदिएको छ । कहिले रक्तदान, कहिले भिसी कपको नाममा रकम अपचलन भनेर क्याम्पस प्रशासन तथा स्ववियु विरुद्ध त्रिविको विद्यार्थी कल्याण महाशाखामा उजुरी पनि परेको छ, तर अहिलेसम्म छानबिन भएको छैन ।

तर पाटन क्याम्पसका स्ववियुका कोषाध्यक्ष तिलक कुमाल भने स्ववियुको खाताको पैसा क्याम्पस र विद्यार्थीको हितमा प्रयोग भइरहेको दाबी गर्दछन् । ‘पैसा अपचलन भएको भन्ने गलत हो, हामीले विभिन्न कार्यक्रमहरुमा खर्च गरेका छौं’ उनले अनलाइनखबरसँग भने, ‘आवश्यक परे प्रमाण दिन तयार छौं ।’

स्वार्थ नमिल्दा समस्या

नेपालको उच्च शिक्षाको ७० वर्षे लामो इतिहास बोकेको पाटन क्याम्पसमा विभिन्न बहानामा पटक–पटक हुने आन्दोलनले शैक्षिक वातावरण नै बिथोलिने गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटी इकाई अध्यक्ष ललित कुमाल पनि क्याम्पस प्रशासन, विद्यार्थी र शिक्षक संगठनहरुको स्वार्थ नमिल्दा समस्या भइरहेको स्वीकार्छन् । भन्छन्, ‘सबैको फरक–फरक स्वार्थ छ । एकढिक्का भएर हिँड्न नसक्दा समस्या भइरहेको छ ।’

क्याम्पसका सहप्राध्यापक विष्णु दाहाल राष्ट्रिय राजनीतिको प्रभावले क्याम्पसमा पनि प्रभाव परिरहेको बताउँछन् । ‘शैक्षिक गुणस्तर तुरुन्तै हुने कुरा होइन लामो समय लगानी गर्नुपर्छ । कोही त्यसको पक्षमा छैनन् । सबैलाई पदको लोभ छ, सुविधाभोगी छन्,’ दाहाल भन्छन्, ‘तीनले कर्मचारी  र शिक्षकसँग मिलेर अव्यवस्थालाई बढाएका छन् ।’

प्राध्यापक संघका अध्यक्ष राम केसी शिक्षक, कर्मचारी, विद्यार्थी सबै धु्रवीकृत भएपनि जवाफदेही बनाउन सकेको भए अवस्था फरक हुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘शिक्षक, कर्मचारी, विद्यार्थी धु्रवीकृत छन् । मुख्य समस्या चाँहि उनीहरुलाई जवाफदेही बनाउन नसक्नु हो ।’

शिक्षक दिपेन्द्र सिंजापति भने पाटन क्याम्पसमा राजनीतिक दलहरुका भातृसंगठनहरु खारेज नभएसम्म अराजकता भइरहने बताउँछन् । ‘गलत गर्ने कसैलाई कारवाही गर्‍यो कि कुट्न, मोसो दल्न तम्सिहाल्छन्,’ उनी भन्छन्, ‘जबसम्म विद्यार्थी संघ, कर्मचारी संघ, प्राध्यापक संघहरु खारेज हुँदैनन् तबसम्म यस्तै हो, सुधार हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *