पार्किङ बन्द गरेपछि सुनसान भयो दरबारमार्ग

0Shares

१५ माघ, काठमाडौं । चितवनका दीपक ढकाल किनमेलका लागि प्राय दरवारमार्ग आउँछन् । गत आइतबार पजेरो चढेर आएका उनले सधैं जस्तै नियमित जुत्ता किन्दै आएको पसल अगाडि गाडी रोके । तत्काल ट्राफिक प्रहरी सिठ्ठी फुक्दै आयो, त्यसपछि दीपक गाडी नरोकी अगाडी बढे ।

दरवारमार्ग आसपास पार्किङको खोजीमा उनले एक चक्कर लगाए तर, पार्किङ भेटेनन् दीपकले भने ‘दरबारमार्गमा गाडी रोकेर सामान किन्न सक्ने वातवरण रहेनछ, यतिक्कै र्फकनुपर्‍यो ।’ पार्किङ हटाउँदा सर्वसाधारण समस्यामा परेको उनले बताए ।

काठमाडौैं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।

दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको सडकमा दुईतर्फी दुई/दुई लेन सडक छाडेर एकतर्फ एक लेनमा पार्किङ राखिँदै आएको थियो । तर पहिले पार्किङ खुला रहेकेा क्षेत्रमा बन्द गरिएपछि दरबारमार्ग क्षेत्रमा अहिले निजी गाडी, मोटरसाइकल लिएर किनमेल गर्न जानेहरुको समस्या दीपकको जस्तै छ ।

दरबारमार्ग वरपर पार्किङको अन्य विकल्प पनि नभएकाले गाडी वा मोटरसाइकल चढेर दरबारमार्ग जानेहरुले पार्किङमा ठूलो झमेला व्यहोर्नुपरेको छ । पार्किङ समस्याका कारण दरबारमार्ग क्षेत्रमा मानिसहरु कम आउन थालेका व्यापारीहरु बताउँछन् ।

दरबारमार्गमा फेन्सी पसल चलाउने आकृति पन्थका अनुसार अहिले पसलमा ग्राहक घटेको छ । आउनेहरुले पनि पार्किङ गर्न समस्या परेको सुनाउने गरेका छन् । ‘पहिले ३-४ जनासम्म कर्मचारी व्यस्त हुने पसलमा अहिले काम नै नपाएको स्थिति छ’ उनले भनिन् ।

ज्वेलरी पसल सञ्चालन गर्दै आएका सुयोग सुनारले दरबारमार्गबाट पसल नै सार्नुपर्ने स्थिति रहेको गुनासो गरे । ‘गत असारबाट विस्तार गरेको थिएँ, डिजाइनमा लाखौं खर्च गरियो तर अहिले मान्छे नै आउँदैनन्’ सुनारले भने ‘पार्किङ दिँदा पनि यहाँ जामको समस्या थिएन । महानगरले किन रोकेको थाहा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *