केन्द्रीय कारागारमा ३४ सय कैदीबन्दी, मतदाता २० जना मात्र ।।।

0Shares

केन्द्रीय कारागारमा ३४ सय कैदीबन्दी, मतदाता २० जना मात्र

अस्थायी मतदाता १ लाख ४८ हजार 
कैदीबन्दी र कर्मचारीले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान  गर्न पाउँछन् ।
काठमाडौँ — अस्थायी मतदान केन्द्रमा १ लाख ४८ हजार अस्थायी मतदाताले मतदानमा भाग लिने भएका छन् । उनीहरुले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने छन् । निर्वाचन आयोगले १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए । 

संघ, प्रदेश र, स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदानस्थल राख्न लागिएको हो ।
कारगार विभागका अनुसार देशैभर २५ हजार ९ सय ६ कैदीबन्दी छन् । तर मतदाता मतदाता नामावलीमा भने धेरै कमको मात्र नाम छ । केन्द्रीय कारागार सुन्धारामा ३ हजार ४ सय कैदी रहेकोमा मतदाता २० जनामात्रै रहेको विभागले जनाएको छ । त्यस्तै पर्सामा १ हजार ४ सय कैदीमध्ये ३७ जना, डिल्लीबजारमा ६ सयमध्ये कर्मचारीसहित १ सय २३ जना मात्रै मतदाता छन् ।

त्यस्तै नख्खुमा १ हजार ४ सय कैदीबन्दीमध्ये मतदाता ५० जना मात्रै छन् । आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी र वृद्धाश्रममा रहेका वृद्धवृद्धा कति छन् ? छुट्याएर सार्वजनिक गर्न चाहेको छैन । मतदाता नामावली ऐनमा अस्थायी मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिकतर्फ मतदान गर्न सकिने व्यवस्था भए पनि आयोगले प्रतिनिधिसभामा मात्रै मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । ‘कारागारमा कैदीबन्दी बढी भए पनि मतदाता नामावलीमा नाम नभएकै कारण न्यूनले मात्रै मतदानमा सहभागी हुने देखिएको छ,’ विभागका महानिर्देशक चक्रपाणी पाण्डेले भने ।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *