मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा
स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे ।
थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । सरकारले स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्नेमा उनले जोड दिए । प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बिमा थेग्न नसकिने उनको भनाइ छ ।
‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौँ भने अवस्था गाह्रो छ । हामी बिमा बिमा भनिरहेका छौँ । सबैलाई बिमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ,’उनले भने ।
स्वास्थ्य बिमा निजी कम्पनीलाई दिनै नहुने उल्लेख गर्दै उनले भने, ‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो । त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ । त्यसैले अब सरकारले यस विषयमा सोचेन भने कि, पैसा मैले मेरो खल्तीबाट हाल्नुपर्ने हो भनेर सोचेन भने स्वास्थ्य सुरक्षाको अवस्था गाह्रो छ ।’
महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए । स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचनाभित्रको महत्त्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने उनको भनाइ छ ।






