संविधान रक्षाका लागि गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

0Shares

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले संविधान रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न एवं संविधान रक्षा गर्न पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

पार्टीकै कतिपय नेताहरुको फरक सिद्धान्त रहेको पार्टीले गठबन्धनको विरोध गरे पनि अहिले विशिष्ट परिस्थिति भएकाले गठबन्धन नतोडिने उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले मुलुकलाई गतिशील बनाउन कांग्रेसलाई नै गतिशील बनाउनु पर्ने बताए । उनले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसलाई नै गतिशील बनाउनु पर्ने बताएका हुन् । ‘नेपाली शासन ब्यवस्थालाई कमजोर बनाए अन्तर्राष्ट्रिय सद्भाव र सहयोग नै नेपालमा रहँदैन,’ उनले भने, ‘त्यसैले नेपालको समृद्धि र विकासका लागि नेपाली कांग्रेसलाई नै गतिशील बनाउनु पर्दछ ।’

गृहमन्त्री खाँणले कांग्रेस विविधतामा विश्वास गर्ने भएकोले आफूहरु यसप्रति गम्भीर भएको बताए । ‘कांग्रेससँग प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरु एक हिसाबले सैन्य संरचनामा छन् । विविधतालाई उहाँहरुले सहजतापूर्वक स्वीकार गर्न सक्नुहुन्न । कांग्रेसका राजनीतिक आस्था नै बहुदलमा आधारित शासन व्यवस्था हाम्रो पद्धति हो,’ उनले भने ।

गृहमन्त्री खाँणले अहिले निर्वाचित जनप्रतिनिधिहरुलाई जनता लक्षित काम गर्न निर्देशन दिए । कांग्रेसले रुपन्देहीमा राम्रो नतिजा हासिल गरेकाले यसलाई कायम राख्न जनप्रतिनिधिहरुको क्रियाकलाप महत्वपूर्ण रहेको भन्दै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेशसभा सदस्य फकरुद्दिन खाँण, रमा अर्याल, प्रदेश सभापति अमर सिंह पुन लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *