नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20के हो अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरेको ‘क्यान्सर मूनसट’ कार्यक्रम ?
काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०४७ सम्ममा क्यान्सरबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने योजना ‘क्यान्सर मूनसट’ घोषणा गरेका छन् । बाराक ओबामा प्रशासनको अन्तिम वर्ष सन् २०१६ मा उपराष्ट्रपतिका रूपमा नै बाइडेनले उक्त योजना अघि सारेका थिए ।
‘मूनसट’ले सन् १९६२ मा शीतयुद्धकालीन समयमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले रुसभन्दा अगाडि चन्द्रमामा पाइला टेक्नेगरी सारेको योजनालाई उजागर गर्छ । केनेडीको घोषणाअनुसार सन् १९६९ को जुलाई २० मा अपोलो ११ मिसनअन्तर्गत चन्द्रमामा पहिलो पटक मानिस पुग्न सफल भए ।
बुधबार पुरानै कार्यक्रमलाई पुन: घोषणा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले क्यान्सरलाई परास्त गर्न सकिने बताएका छन् । ‘क्यान्सरबारे प्राप्त जानकारीअनुसार हामीले यसलाई परास्त गर्न सक्छौं भन्ने लाग्छ । म उपराष्ट्रपति हुँदा नै यसबारे लड्नका लागि प्रतिबद्ध थिएँ । यही एउटा कारण थियो कि म राष्ट्रपतिमा लड्नु । अहिले म राष्ट्रपति छु, त्यसमा कुनै शंका छैन । ह्वाइट हाउसको प्राथमिकता पनि यही हो,’ बाइडेनले भने ।
बाइडेनले ‘क्यान्सर मूनसट’ मार्फत तीनवटा महत्वाकांक्षी योजना अघि सारेका छन्; क्यान्सरसम्बन्धी वैज्ञानिक खोजलाई तीव्रता दिने, सहकार्यलाई बढावा दिने र तथ्यांक एकापसमा बाँड्ने । क्यान्सरसम्बन्धी अध्ययन अनुसन्धानमा बजेट बढाउने र त्यसलाई प्राथमिकतामा राखेपछि अनुसन्धानकर्मी र चिकित्सकहरूमा उत्साह छाएको छ ।
अमेरिकाले सन् २०१६ मा ‘ट्वेन्टी फस्ट सेन्चुरी क्युर्स एक्ट’ पास गर्दै ७ वर्षका लागि क्यान्सर मूनसट कार्यक्रममा १ अर्ब ८० करोड अमेरिकी डलर बजेट छुट्याएको थियो । उक्त बजेट प्रत्येक आर्थिक वर्षमा अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्नेछ । आर्थिक वर्ष २०१७ र २०१८ का लागि ३ सय मिलियन डलर, २०१९ का लागि ४ सय मिलियन डलर र २०२० र २०२१ का लागि १९५ मिलियन डलर बजेट छुट्याएको थियो ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार क्यान्सर विश्वव्यापी मृत्युको प्रमुख कारणमध्येको एक हो । डब्लूएचओका अनुसार सन् २०२० मा क्यान्सरका कारण विश्वभर करिब १ करोड व्यक्तिको मृत्यु भएको थियो । स्तन, फोक्सो, आमाशय र प्रोस्टेट क्यान्सर सबैभन्दा बढी देखिने क्यान्सर हुन् । क्यान्सरबाट हुने मृत्युमध्ये करिब एकतिहाई सूर्ती, चुरोट सेवन, मोटोपना, मद्यपान, शारीरिक व्यायमको कमीका कारण हुने क्यान्सरबाट हुन्छ ।
अमेरिकामा कस्तो छ क्यान्सरको अवस्था ?
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) को तथ्यांकअनुसार सन् २०१८ मा १७ लाख ८ हजार ९ सय २१ क्यान्सरका रोगी भेटिएका थिए । तीमध्ये ५ लाख ९९ हजार २ सय ६५ जनाको क्यान्सरबाट मृत्यु भएको थियो । अमेरिकामा हरेक १ लाख जनामध्ये ४ सय ३६ जनामा क्यान्सर हुने गरेको पाइएको छ । तीमध्ये १४९ जनाको मृत्यु हुने गरेको छ । सन् २०१८ मा अमेरिकामा क्यान्सरसम्बन्धी पछिल्लो तथ्यांक अद्यावधिक गरिएको हो ।